Logo

Student Corner

प्राविधिक शिक्षा आजको आवश्यकता

Written by: Ishu Shiwakoti - 22009, Grade XII

Posted on: 23 March, 2022

विद्यार्थीहरूलाई विभिन्न आधुनिक उपकरणहरूको प्रयोगबाट रचनात्मक र प्रयोगात्मक कार्यहरू गराई प्रदान गरिने सिपमूलक, उत्पादनमूलक र अनुसन्धानमूलक शिक्षालाई प्राविधिक शिक्षा भनिन्छ । यो पारम्परिक शिक्षाभन्दा अलग प्रकारको हुन्छ । यसले व्यक्तिलाई व्यावहारिक ज्ञान र कौशल प्रदान गरी आफ्नो योग्यता र क्षमता अनुसारको रोजगारी उपलब्ध गराउँछ । यो हिजोआज जनमानसमा अत्यन्त लोकप्रिय बनेको छ । प्राविधिक शिक्षालाई सफल नागरिक उत्पादन गर्ने चेतनामूलक वा रोजगारीमूलक शिक्षा पनि भन्न सकिन्छ । 

आजको विश्वमा हरेक क्षेत्रमा प्रविधिको प्रयोग भइरहेको छ । आधुनिक प्रविधियुक्त उपकरणहरूको प्रयोगबाट कुनै पनि कार्य छिटो छरितो र सजिलोसँग गरिन्छ । यसले मानव विकासलाई गतिशील बनाएर सफलताको उच्च विन्दुमा पुर्याएको छ । कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन, यातायात आदि सबै क्षेत्रको विकासमा प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको छ । यसका धेरै फाइदाहरूका साथै केही बेफाइदाहरू पनि छन् । यसका फाइदाहरूबाट अधिकतम लाभ उठाउने र बेफाइदाहरूलाई न्यूनीकरण गर्दै लैजाने काममा मानव जाति सचेत रहनुपर्छ । 

हाम्रो देश नेपाल प्राकृतिक स्रोत र साधनमा धनी भए तापनि यसको उचित प्रकारको उपयोग हुन नसकेका कारण यहाँका बहुसङ्ख्यक मानिसहरू अझै पनि गरिबीको रेखामुनि नै छन् । त्यसकारण हामीलाई यस्तो युवा जनशक्तिको खाँचो छ, जसले देशमा भएका स्रोत र साधनको पहिचान गरी त्यसको सही तरिकाले उपयोग गर्न सकोस् । यस प्रकारको जनशक्ति उत्पादन गर्ने एक मात्र विकल्प भनेको प्राविधिक शिक्षा नै हो । यसले मानिसहरूलाई स्वरोजगार बनाउँछ । बेरोजगारीको अन्त्य भई उत्पादनशिलता बढेर देशको अर्थ व्यवस्था राम्रो बन्ने छ ।