Logo

Student Corner

अधिनायकवाद

Written by: Aashrab Khanal - 22001, Grade XII

Posted on: 15 March, 2022

अधिनायकवाद भनेको सरकार र राजनीतिक प्रणालीको एक रूप हो, जसले सबै विपक्षी दलहरूलाई निषेध गर्छ । त्यससँगै अधिनायकवादी राज्यले व्यक्तिगत विरोधलाई निषेध पनि गर्छ र सार्वजनिक तथा निजी जीवनमा अत्यन्त उच्च स्तरको नियन्त्रण र नियमन प्रयोग गर्छ । यो विश्वको इतिहासमा कयौँ अधिनायकवाद समाजको स्थापना भएको छ, जसले मानव उन्नतिलाई पछाडि पार्न सफल रहेको छ ।


अधिनायकवादी राज्यहरूमा राजनीतिक शक्ति प्रायः तानाशाह र निरङ्कुश राजाहरूको वरिपरि आयोजित हुन्छ । त्यस्ता राज्यहरूमा नागरिकहरूलाई नियन्त्रण गर्न राज्य नियन्त्रित आमसञ्चार माध्यमहरूद्वारा प्रचार प्रसारित गरिन्छ । अधिनायकवाद आफैँमा एक राजनीतिक विचारधाराको रूपमा एक विशिष्ट आधुनिक घटना हो तर यसका धेरै जटिल ऐतिहासिक जराहरू छन् । दार्शनिक कार्ल पोपर यसको जरा प्लेटो र हेगेलको राज्यको अवधारणा र कार्ल मार्क्सको राजनीतिक दर्शनमा पाइने पुष्टि गर्छन् तर पाेपरको अधिनायकवादको अवधारणा अत्यधिक विवादास्पद बनेको छ तर दार्शनिकहरूको विचारमा यस्ता सिद्धान्तहरूको उत्पत्ति हुनाको कारण विज्ञान र प्रविधिको विकास हो । 


अङ्ग्रेजी भाषामा सर्वसत्तावाद शब्द प्रयोग गर्ने पहिलो व्यक्ति अस्ट्रियाली लेखक फ्रान्ज बोर्केनाउ थिए । उनले आफ्नो पुस्तक ‘द कम्युनिस्ट इन्टरनेसनल’ मा यो शब्दको प्रयोग गरेका थिए, जसमा उनले टिप्पणी गरे कि यसले सोभियत र जर्मन तानाशाहहरूलाई विभाजित गर्नुभन्दा पनि बढी एकजुट बनाएको छ । ‘अधिनायकवाद’ शब्दलाई इटालीका सबैभन्दा प्रमुख दार्शनिक र फासीवादका प्रमुख सिद्धान्तकार जियोभन्नी जेनटाइलका लेखहरूमा सकारात्मक अर्थ दिइएको थियो । मुसोलिनीले अधिनायकवादको भाव यो भनाइमा राम्ररी बुझाएका छन्:  "राज्यभित्र सबै कुरा, राज्यबाहिर केही पनि, राज्यको विरुद्धमा केही छैन ।” अधिनायकवादी शासनहरू विभिन्न देशअनुसार भिन्न देखिन्छन् किनकि एउटा राज्यमा एकल शक्ति एक व्यक्तिगत तानाशाह अथवा एक समिति वा एक सैन्य जमातको वरिपरि आयोजित भएको एउटा अधिनायकवादी शासनले  विस्तृत विचारधाराको माध्यमबाट अर्थव्यवस्था, शिक्षा प्रणाली, कला, विज्ञान र निजी जीवन तथा नागरिकको नैतिकता र सामाजिक जीवनको लगभग सबै संयन्त्रहरू नियन्त्रण गर्ने प्रयास गर्छ र आफ्नो लक्ष्यको खोजीमा सम्पूर्ण जनसङ्ख्यालाई परिचालन गर्छ । 


अधिनायकवादी शासनहरूमा धेरै कुराहरूको मेल पनि हुन्छ । आफ्नो पुस्तक ‘द ट्रु बिलिभर’ मा एरिक होफरले फासीवाद, नाजीवाद र स्टालिनवादजस्ता राजनीतिक विचारधारालाई तुलना गरेका छन् । यी विचारधाराहरूले पश्चिमी लोकतन्त्र र तिनका मूल्यहरूलाई पतनको रूपमा चित्रण गर्ने गर्छ । अधिनायकवादको विरुद्धमा बोल्नु हरेक नागरिकको कर्तव्य हो । एउटा सफल मानव समाजका लागि अधिनायकवादी शासनहरूलाई हटाउनु आवश्यक छ ।