Logo

Student Corner

देशको माया

Written by: Saphal Subedi - 23063, Grade XI

Posted on: 11 March, 2022

आफू जन्मेको देश सबैलाई प्याराे लाग्छ। आँखाको नानीजस्तै सम्झेर अनि आफ्नो मुटुजस्तै ठानेर देशभक्त हुनु देशलाई माया गर्नु हो । देशको मायालाई नै देशप्रेम वा राष्ट्रप्रेम पनि भनिन्छ । मानिस जुन देशमा जन्मन्छ, हुर्कन्छ अनि त्यहीँ देशको माटो र पानीमा ऊ रङ्गिन्छ । त्यसै देशसँग उसको गहिरो सम्बन्ध हुन्छ । यसरी आफू जन्मेको देशलाई प्रेम गर्नु, त्यसको हित र उन्नति, सम्मान र प्रतिष्ठाका लागि काम गर्नु नै देशको माया हो, देशप्रेम हो ।

“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् भनिएको छ । वास्तवमा देशलाई माया गर्ने मानिसले नै आफ्नाे र समाजको कल्याण गर्न सक्छन् । यस्ता मानिसलाई सबैले मन पराउँछन् र आदर गर्छन् । जुन मानिसले देशलाई माया गर्दैन, जन्मभूमिको महिमा बुझ्दैन त्यो मानिस पशु बराबर हुन्छ । उसको आत्मा मरेको सिद्ध हुन्छ । यसैले मानव समाजमा देशको माया वा देशप्रेमको ठुलो महत्त्व छ। 

देशको माया भावनामा उब्जन्छ । नदेखिने रूपमा आफ्ना कुनै पनि राम्रा कामद्वारा हामी देशलाई माया गरिरहेका हुन्छौँ । देशको माटाेमा आफ्नो शक्ति लगाएर, देशका निम्ति सिप देखाएर पनि देशलाई माया गर्न सकिन्छ । देशलाई माया गर्ने मानिस कुनै पनि दुःख झेलेर काम  गर्न पछि हट्दैनन्। उनीहरू परी आए देशका लागि ज्यानै दिन पनि तयार हुन्छन् । हाम्रा वीर पुर्खा र अमर सहिदहरूले देखाएका पुरुषार्थ यसका उदाहरण हुन् ।

प्रत्येक व्यक्तिले जीवनका पाइला-पाइलामा देशलाई माया गर्नुपर्छ। देशको मायामा हुरूक्क हुने मानिस मरेर पनि मर्दैन । ऊ सधैँ बाँचिरहेको हुन्छ । हामीले आफ्नो देशलाई मुटुदेखि माया गरी देशको उन्नति-प्रगति र जनतालाई सुख शान्ति हुने कुरामा लाग्नुपर्छ । जसरी भए पनि आफ्नो देशलाई फलाउने फुलाउने कार्यमा लाग्नुपर्छ ।