Logo

Student Corner

अबको एक दुई दशकमा कस्तो होला नेपाल ?

Written by: Subesh Tharu - 22013, Grade XII

Posted on: 10 March, 2022

तपाईंहरूले कहिले सोच्नुभएको छ, हाम्रो नेपाल एक दुई दशकमा कस्तो हुन्छ होला ? यहाँ के के परिवर्तन हुन्छ होला भनेर ? नेपालले आफ्नो भविष्य बनाउँछ कि अझै अन्धकारको बाटामा हिँडिराख्छ ? कसरी बदलिन्छ होला त नेपाल ? के यो प्रतिस्पर्धात्मक संसारमा नेपालले आफ्नो पहिचान जोगाउन सक्छ होला ?

देशमा अहिलेको जस्तै अवस्था रहिरह्याे भने चाहिँ विकास हुन अलि मुस्किल नै देखिन्छ । अहिलेको जस्तो राजनीतिक अस्थिरता, भ्रष्टाचार, विदेश पलायन, देशको विकासमा चासो नदिने भयो भने त नेपाल प्रगतिको बाटामा हिँड्न मुस्किल नै छ तर मुस्किल छ भन्नेबित्तिकै असम्भव नै चाहिँ छैन । नेपाल विकासोन्मुख देश हो र यहाँ राजनीतिक अस्थिरता, सामाजिक विभाजन, आर्थिक विकास नहुने, रेमिट्यान्समाथिको निर्भरता, भ्रष्टाचारको संस्कृति लगायतका चुनौतीहरूको ठुलो सूची छ र हामीलाई थाहा छ कि यो सहज हुने छैन तर नेपालको भविष्य उज्ज्वल छ भन्ने कुरा म ढुक्क भएर भन्न सक्छु । नेपालमा पनि विदेशमा भएका जस्तै ठुला ठुला घर, राम्रा र सफा सडक, राम्रो स्वास्थ्य र यातायात सुविधा, इन्टरनेट सञ्जालमा विकास, मानिसहरूको जीवनस्तरमा वृद्धि र अर्थ व्यवस्थामा वृद्धि हुने छ । 

नेपालमा धेरै स्रोत साधनहरू उपलब्ध छन् र यिनलाई सही तरिकाले उपयोग गर्याैँ भने हामी धेरै अगाडि बढ्न सक्छाैँ, जस्तैः नेपालमा भएको तीव्र गतिमा बग्ने नदीबाट बढीभन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिन्छ र यसले नेपालको पुरै विद्युत समस्या हटाउँछ । यसरी नै नेपाल प्रकृतिक विविधताले भरिएको देश हो र यो विश्वकै उत्कृष्ट पर्यटकीय स्थल बन्न सक्छ । नेपालमा धेरै अर्धदक्ष र अदक्ष जनशक्ति छ र यसलाई चेतना तथा अवसर दियो भने नेपाल धेरै अगाडि बढ्छ । नेपाल अरू देशको तुलनामा सानै छ त्यसैले विकास गर्न त्यति गाह्राे हुँदैन । म आशा गर्छु कि भोलिको नेपाल सुन्दर, समृद्ध र खुसियालीले भरिपूर्ण हुने छ । यहाँ ठुलठुला भवन, स्वास्थ्य, शिक्षा, यातायातजस्ता सबै सुविधा, मानिसहरूको राम्रो भविष्य र सबैजनाको जीवनस्तरमा वृद्धि हुने छ । देशको अर्थ व्यवस्था बलियो हुने छ र भ्रष्टाचार र बेइमानीजस्ता कुरा इतिहासमा मात्र सीमित हुने छन् । देश तथा देशका जनताले प्रगति गर्ने छन् ।