Logo

Student Corner

खै त मेरा बाआमा ?

Written by: Anushka Basnet - 24001, Grade X

Posted on: 04 March, 2022

कुरा विसं २०६२ सालभन्दा अगाडिको हो । नेपालमा तत्कालीन साशन व्यवस्था विरुद्ध सशस्त्र आन्दोलन सुरु भइसकेको थियो । सीता त्यतिबेला सानै  थिई । उसको दैनिकी भनेको विद्यालय जाने आउने मात्र थियो । आमा गृहिणी मात्र भएकाले घरको काम गर्नुहुन्थ्यो । बुबा प्रेसमा काम गर्नुहुन्थ्यो । बुबाको पेसा अलि जोखिम खालको थियो । देश परिवर्तन गर्न भनी हिँडेका विद्राेही पक्ष उसकाे बुबाका पछि परेका थिए । सरकार र विद्राेही पक्षका घटना बाहिर ल्याउनु जनतालाई सुसुचित गराउनु उनको पत्रकारिताको मूल मर्म थियो । त्यसैले बुबाको घाँटीमा हात राख्न खोज्ने धेरै थिए ।

देशमा आन्दोलन चर्किदै थियो । ठाउँ ठाउँमा बम पड्केर मानिसहरू मरेका समाचार दैनिक आइरहन्थे । कति निर्दाेष मानिसले ज्यान गुमाइरहेका थिए । कतिले बाबुआमा त कतिले आफ्ना सन्तान गुमाइरहेका थिए । यस्ता समाचार छाप्नु पर्दा उनी निकै दु:खी ।  थिए आर्थिक रूपमा मध्यम वर्गीय सीताको परिवार सुरक्षाका दृष्टिले अलि असुरक्षित नै थिए । एकदिन केही मानिस सीताको घरमा आए । उनको बुबासँग केही काम छ भनेर लिएर गए । सीता नचिनेका मानिसले बुबालाई किन लिएर गए भन्दै लुकेर रुन थाली । एक छिनपछि केही मानिसहरू आए र आमालाई पनि लिएर गए । सीताले केही बुझ्न सकिन आमाबाबा आउने बाटो हेर्न थाली  । बाटो हेर्दै जाँदा उसका कैयौँ दिनरात बिते तर उसका बुबाआमा फर्केर आएनन् । उसले गाउँका जान्ने बुझ्ने सबैलाई सोधी । उसका बाबाआमालाई देश परिवर्तन गर्न हिँडेका समूहले लिएर गएका रहेछन्। उसले आफन्तको सहयोगमा आमा बाबाको खोजी त गरी तर उसका आमाबाबा ऊ ठुली हुँदासमेत फर्केर आएका छैनन् ।

अहिले सीता ठुली भइसकी । बेपत्ता नागरिककाे सूचीमा उसका बाबाआमा छन् । उसले साेध्छे “खै मेरा बाआमा”  उनीहरू कहिले आउँछन् ? उसले कहिले न्याय पाउँछे ? देश परिवर्तन गर्न हिँडेका शक्ति नै अहिले सरकारमा छन् । सीता जस्ता धेरै छोराछोरी न्याय कुर्दा कुर्दै बसेका छन् । थाह छैन न्याय कहाँ छ; न्यान्य कहिले आउँछ ?