Logo

Student Corner

के भनूँ कसलाई म ?

Written by: Anukrama Poudyal - 2022031, Grade XII

Posted on: 03 March, 2022

ईश्वरकै भरमा सारा नेपाली जब बाँच्दछन्,

कर्म जीवन हो हाम्रो कर्ममै सब बाँच्दछन्,

नेपालीहरू नै आज नेपालीलाई ढाँट्दछन्,

सभा, भाषण हेर्यो, सबै नैतिक बोल्दछन्,

व्यवहारमा हेर सबै नैतिकता फाल्दछन् ।

 

देश यो अब बन्ला भन्ने निश्चय नै त्यो

हाम्रो दुर्भाग्य नै होला आशा सारा धुलो भयो,

कोपिला ठन्डीमा फुल्न सक्दैन त्यो कसै गरे,

राष्ट्रमा यो  प्रजातन्त्र नफुल्ला है कतै भरे !

 

वासन्ती रापले पुष्प कोपिला फक्री फुल्दछ,

सत्कर्म गरे देश सधैँ अघि बढ्दछ,

आशा आमा यही गर्छिन् कता मलाई हेर्दछन् ?

फर्की फर्की सबै हेर्छिन् कसले मलाई ढोग्दछन् ।

 

आफैँमा खुम्चिँदै, सोच्दै आफैँमा पुत्र रम्दछ,

आफैँमा सुखशान्तिको तानाबाना बनाउँछ,

केवल आफन्तकै लागि सुखाशान्तिमै रम्दछ,

आमाको रूप सम्झेर एक क्षण त डराउँछ,

तुरुन्त सबै बिर्सेर झुटाे नारा लगाउँछ,

सदैव जनतालाई सकेसम्म छक्याउँछ ।

 

सुस्केरा छटपटी गर्दै सम्झिँदै ती सपुतका

सुकेका छैनन्, भन्छिन् रुँदै आमा रगत सहिदका

समस्त सृष्टिको सुन्दर मनवमूल्य गयो कता ?

यस्तै छ देशको चाला, के भनूँ म कसलाई ?

आखिर के भनूँ म कसलाई ?