Logo

Student Corner

राजनीतीमा महिलाको सहभागिता

Written by: Himani Bhattarai - 24011, Grade IX

Posted on: 02 March, 2022

नेपाली राजनीति, संसद र सार्वजनिक पदमा अझै पनि महिलाको प्रतिनिधित्व पुरुषको तुलनामा कम छ । राजनीतिमा महिलाको सहभागिताले लैङ्गिक समानतालाई अगाडि बढाउन मद्दत गर्छ ।  महिलाहरू चुनावमा धेरै अगाडि बढिरहेका छन् तर प्रतिनिधित्व पुरुषको तुलनामा उनीहरूको सङ्ख्या निकै पछाडि छ । नेपालमा कुल जनसङ्ख्याकाे आधाभन्दा बढी महिला भए पनि उनीहरू निकै पछाडि परेका छन् । विकसित देशहरूमा हेर्ने हो भने त्यहाँको राजनीतिमा महिला पुरुष सरह वा सोभन्दा बढी पनि छन् । जसले गर्दा महिला हकहित र समानता पनि समान नै देखिन्छ ।

नेपाली राजनीतिमा महिला विरुद्धको कलङ्क अझै जीवित  छ। उनीहरूले सामाजिक, आर्थिक, संस्थागत र सांस्कृतिक अवरोधहरूको सामना गरिरहेका छन् । ती अवरोधहरूलाई सम्बोधन गर्न सरकार, नागरिक समाज, सञ्चारमाध्यम, शिक्षाविद् तथा सरोकारवाला सबैले प्रयास गर्नुपर्छ।

जर्मनमा महिला हकहित र अधिकारका लागि जे जस्तो कठोर सङ्‌घर्ष क्लारा जेटकिनले गरिन् । त्यस्तो सङ्‌घर्ष विश्वका जुनसुकै महिलाले पनि गर्न सक्छन् । आफ्ना हक र अधिकारका लागि महिला नै अघि बढ्नुपर्छ । राजनीतिमा महिला सहभागिता बढ्नु भनेको देश विकासको गतिमा अगाडि फड्को मार्नु हो । यदि राजनीतिमा महिला सहभागिता बढ्यो भने समग्र राष्ट्र, समाज र परिवार पनि सुधारिन्छ । विभिन्न हिंसा भोगिरहेका महिलाले पनि आफू विरुद्ध भइरहेका अन्यायका विरुद्ध आवाज उठाउन सक्छन् । त्यस्तै विश्वव्यापी विकास लक्ष्यहरू पूरा गर्न र दिगो लोकतन्त्रको निर्माणमासमेत महिला राजनीतिले सहयाेग पुर्‍याउने छ । समावेशी, जवाफदेही र पारदर्शी लोकतन्त्रको विकासका लागि पनि राजनीतिमा महिलाकाे सहभागिता नभई हुँदैन ।