Logo

Student Corner

कलेजबाट सिक्न पाएइका कुराहरू

Written by: निहारिका श्रेष्ठ - 22022, Grade XII

Posted on: 25 February, 2022

हिजो भर्खरै कलेजको खोजीमा भएजस्तै लाग्छ तर अब भने १ महिनापछि कलेज सकिन नै लागेको छ । समय कति छिटो बित्छ थाहा नै पाइँदैन । पहिला सुन्ने गरिन्थ्यो कि कलेज पुगेपछि शिक्षकहरूले विद्यार्थीको केही मतलब गर्दैनन् । कक्षाकार्य, गृहकार्यहरू पनि बुझाउनु आवश्यक हुँदैन तर मैले यस्ता कुराहरू केही पनि भोग्नु परेन । मैले पढेको कलेजमा शिक्षकहरूले पढाइसम्बन्धी कुराहरू र अरू बाहिरी ज्ञान दुईटै राम्ररी बुझाउनुहुन्छ । 

 

कलेजमा पहिलो प्राथमिकता दिने भनेकै हाम्रो पढाइ हो । हामी कलेज आउनुको मुख्य कारण पनि पढ्नलाई नै हो तर पढाइका साथसाथै अरू धेरै कुराहरू सिक्न पाउँछौँ, जुन हामी र हाम्रो भविष्यलाई उज्यालो बनाउन सहयोग गर्छ । याे कलेजबाट २ वर्षमै धेरै नयाँ कुराहरू सिक्न पाएँ । पहिला कहिले लेखजस्ता कुराहरू लेख्ने अनुभव गरेको थिइनँ । यहाँ आएपछि लेख लेख्ने तरिकाहरू सिक्न पाएँ र हरेक महिना लेख्ने पालाे परेकाले मेरो लेखन पहिलेभन्दा एकदम राम्रो भएको छ । यसले लेख राम्रो पार्नेमात्र नभई हाम्रो सोच्ने शक्ति पनि बढाउँछ त्यसैले अब लेख्ने भनेपछि मलाई एकदम रमाइलो लाग्छ । 

 

अर्को कुरा, याे कलेजले मलाई सिकाएको भनेको किताब पढ्न हो । पहिला मलाई किताब पढ्नजस्तो अल्छीलाग्दो काम अरू केही होइनजस्तो लाग्थ्यो तर यहाँ हरेक महिना दुईवटा नयाँ नयाँ किताबहरू पढ्नु परेकाले मलाई पढ्ने बानी लागेको छ । सुरुका केही महिना त गाह्राे नै भएको थियो । कहिले नपढिरहेको एकैचोटि पढ्नुपर्दा आत्तिएको पनि थिएँ तर बिस्तारै बानी हुँदै गयो र मलाई रमाइलो पनि लाग्यो । किताब पढ्नाकाे महत्त्व पनि बुझेँ । हामी किताबको हरेक पानामा नयाँ कुरा सिक्न पाउँछौँ । यसरी हामीले दिनदिनै एउटा नयाँ कुरा थाहा पाउँदा ज्ञान पनि बढ्छ । हामीले किताब पढेपछि त्यसकाे समीक्षा पनि लेख्नुपर्छ । यो लेख्न किताब पढ्नु जरुरी भएकाले किताब पढ्ने बानी छिटै लागेको पनि हुन सक्छ । अहिले त हरेक महिना कहिले नयाँ किताब पाउँला भन्ने पर्खाइमा हुन्छु। 

 

अर्को राम्रो कुरा याे कलेजबाट सिक्न पाएको भनेको भिडमा गएर बोल्नु हो । प्रत्येक हप्ता हाम्रो डिएसएस टक हुन्छ । यसमा हामीले सबैको अगाडि गएर बोल्नुपर्ने हुन्छ । पहिला त बोल्नु पर्याे कि एकदमै डर लाग्थ्यो । सबैका अगाडि बोल्ने हिम्मत पनि आउँदैनथ्यो तर यहाँ हरेक हप्ता बोल्नुपर्ने भएकाले अहिले त्यस्तो डर भन्ने केही लाग्दैन । सुरु सुरुमा त मेरो बोल्ने पालो कहिले नआओस्‌जस्तो हुन्थ्यो । अगाडि गएर बोल्न सक्छु कि सक्दिनँ भनेर शङ्का लाग्थ्यो । पहिलो चोटि त त्यस्तो राम्रो पनि भएन । बोल्नुपर्ने आधा कुराहरू बिर्सेर धेरै बोलिनँ । त्यस्तो भएको मुख्य कारण नै डर थियो तर गल्ती भए पनि सिक्दै गएँ र अब भने निडर भएर बोल्न सक्छु । यस्ताे डर हामी आफैँले मन र मस्तिष्कमा बनाउने रहेछाैँ भन्ने पनि थाहा पाएँ । जब यो डर मैले आफूबाट निकालेँ, त्यस दिनदेखि बोल्न सक्छु भन्ने विश्वास भयो र बाेल्ने बानी पनि पर्यो । 

 

याे कलेजबाट मैले धेरै कुराहरू सिक्न पाएँ । पहिला आउँदा यी कुराहरूका बारेमा धेरै जानकारी थिएन तर आहिले यी कुराहरूमा धेरै सुधार आएको छ । यी २ वर्षमा मैले आफ्नो भविष्य राम्रो बनाउन सहयोग हुने कुराहरू सिक्न पाएँ र यस कलेजमा पढ्ने निर्णय गरेकामा म एकदमै खुसी छु । यहाँ बनाएका साथीहरू पनि एकदमै राम्रा छन् । साथीहरूसँग बनाएका सम्झनाहरू कहिले बिर्सन सक्दिनँ । शिक्षकहरूले पनि हाम्रा हरेक कुरामा सहयोग गर्नुहुन्छ । उहाँहरूले पढाइका साथसाथै अरू कुराहरूको पनि ज्ञान दिनुहुन्छ । यहाँ पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि त्यति नै महत्त्व दिइन्छ । त्यसैले यहाँबाट मैले पढाइको मात्र ज्ञान प्राप्त नगरी अन्य कुराहरूको बारेमा पनि त्यतिकै सिक्न पाएकी छु ।