Written by: Samyam Shrestha - 22012, Grade XII
Posted on: 24 February, 2022
ठुलो बन्ने सपना छ है सबैलाई
यस्तो स्थितिमा छाडेर गए भगवान्ले हामीलाई
किताबका हिमाल लिएर आउँछन् सब शिक्षकले
कापीहरूका ठुला पहाड बनाउनुपर्छ हामीले ।
पढ्छु, पढ्छु, भन्छु हरेक घण्टा
तर के गर्ने ? भनाइमा सकिन्छन् ती घण्टाहरू
आमाबुबालाई धेरै आशा हुन्छ, छोरा पढ्दै छ भनेर
दुई घण्टा भइसक्यो, त्यो किताब पढ्ने हो कि होइन ? को सोचाइमा ।
कक्षामा शिक्षकले एकमा एक जोड्दा कति हुन्छ ? सोधे,
मचाहिँ एक महान् पुरुषजस्तै उठेर ‘तीन’ भन्न पुगेँ,
नाक फुलेको थियो मेरो
जिन्दगीमा पहिलो पटक सही उत्तर भनेकामा
शिक्षक तयार भए लठ्ठी लिएर
मलाई दुई दनक दिनका लागि ।
यता हेर्छु, उता हेर्छु,
सबैजना पढिरहेको देख्छु,
आफू भने बेरोजगार केटाजस्तो बस्छु,
घर फर्किन्छु, पढ्ने आशाको किरण लिएर,
किताब हेर्न पाएको छैन,
ढलिहाल्छु, त्यही पुरानो स्थिति बोकेर ।
हरेक सेकन्ड एक अक्षर पढेर भरिन्छ मेरो मन
परीक्षामा पास हुन चाहिन्छ एक जनाले कमाएको पुरै धन
१००० रुपैयाँ टाँसेर परीक्षाकाे उत्तरपुस्तिका बुझाउनुपर्ला,
पहिल्यैदेखि पढ्न सुरु गरे यस्तो आपत्ति कहिल्यै नआउला ।