Logo

Student Corner

मकर सङ्क्रान्ति

Written by: Prasun Regmi - 22028, Grade XII

Posted on: 18 February, 2022

नेपाल चाडपर्वहरूमा धनी देश हाे । संस्कृति र सम्पदा नै हाम्रो पहिचान हो । हामी नेपालीहरू हाम्रा चाडपर्व बडो धुमधामसँग सपरिवार बसेर मनाउने गर्छौं । यस्तै चाडपर्वमध्ये माघ महिनामा पर्ने अर्थात् माघ १ गते ‘मकर सङ्क्रान्ति’ पर्व मनाइन्छ । माघ महिनालाई मध्य हिउँद पनि भनिन्छ ।

माघ १ गते अर्थात् माघे सङ्क्रान्तिदेखि सूर्य उत्तरायणमा हुन्छ । उत्तरायणको दिन लामो र रात छाेटाे हुन्छ । ऋतु परिवर्तन हुने र राशि पनि परिवर्तन हुने सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति माघे सङ्क्रान्ति हामी धुमधामसँग मनाउँछौँ । माघ १ गते अर्थात् माघे सङ्क्रान्तिको दिन धार्मिक दृष्टिले धार्मिक स्नान अर्थात् बिहानै स्नान गरिन्छ । स्नानपछि भगवान् सूर्य, शङ्कर र विष्णु भगवान्‌को पूजा गरिन्छ । 

माघे सङ्क्रान्ति मध्य जाडोको बेला हो । यस्तो बेलामा शरीरलाई तातो बनाइराख्नु जरुरी हुन्छ । माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल आदि शरीरलाई आवश्यक पौष्टिक तत्त्व भएका खानाहरू खाइन्छन् । यो बेला शरीरलाई एकदम स्वस्थ राख्न यस्ता स्वास्थ्यवर्धक खानेकुराहरू खाइने गर्दछन् । घाममा बसेर टाउकाका साथै शरीरभरि पनि तेल लगाउने चलन पनि छ । हाम्रो संस्कृति, हाम्रो परम्पराले हरेक चाडपर्वहरूको धार्मिक एवम् वैचारिक विशेषताहरू र सिद्धान्तहरू अँगालेको पाइन्छ, जस्तोः माघे सङ्क्रान्तिमा तिल, चाकु, घिउ, तरुल, पालुङ्गाेको साग, माघ महिनामा भगवान्‌लाई चढाएको राम्रो र आफूहरूले पनि खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अनि वैज्ञानिक दृष्टिकाेणबाट हेर्ने हो भने माघ महिनामा जाडोले गर्दा हाम्रो शरीर चिसोका कारण धेरै कमजाेर भइरहेको हुन्छ । कमजाेर भएकाे शरीरलाई पौष्टिक तत्त्वहरू खाएर, तातो दिने वस्तुहरू खाएर बलियो बनाउन घिउ, चाकु, तिल, तरुलजस्ता खाना खाइन्छन् ।

माघे सङ्क्रान्तिको दिन पर्वत, स्याङ्जा र गुल्मीकाे सङ्गममा अवस्थित सेतीवेनी धाममा धुमधामसँग मेला लाग्छ । मकर सङ्क्रान्तिको दिन त्रिवेणीहरूमा ठुलो मेला लाग्दछ । नारायणको धुमधामसँग पूजा हुन्छ र भजन गाई याे पर्व रमाइलो गरी मनाइन्छ ।

सङ्क्रान्तिकाे दिनमा सक्नेले दीनदुखीहरूलाई न्यानो वस्त्र तथा खानेकुरा दान गर्छन् । यो दिन तिल दान गर्नाले पुण्य हुन्छ भन्छन् । यो वर्ष पनौतीमा लाग्ने १२ बर्से मकर मेला पनि परेको थियाे । हरेक १२ वर्षमा माघे सङ्क्रान्तिदेखि एक महिनासम्म १२ वर्षमा मकर मेला लाग्छ, जहाँ नारायण भगवान्‌का साथै भगवान् शिव र सूर्यनारायणको पूजा हुन्छ । याे पर्व पहाडी जिल्ला र उपत्यकामा मकर सङ्क्रान्ति भनेर मनाइन्छ भने तराईमा माघी पर्वका रूपमा तराईवासीहरूले धुमधामसँग मनाउँछन् । उनीहरूले यो पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।

निष्कर्षमा मकर वा माघे सङ्क्रान्ति पनि नेपालका अरू धेरै चाडहरूमध्ये एक चाड हो र यो चाडको पनि आफ्नै सांस्कृतिक पहिचान छ । यो चाडमा पनि धेरै मेलाहरू हुन्छन्, पूजाहरू हुन्छन् । यो चाडमा खाइने विशेष किसिमका खानाहरू हुन्छन् । यी सबैकाे संयाेजनमा यो चाड धुमधामसँग मनाइन्छ । यो चाड मनाउनु रमाइलो गर्नभन्दा पनि हाम्रो शरीरका लागि राम्रो छ । यो चाड पनि एउटा एकदम राम्रो र रमाइलो चाडपर्व हो र यसका आफ्नै विशेषता छन् ।