Logo

Student Corner

भत्किएका किनारा: पुस्तक समीक्षा

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 18 February, 2022

भत्किएका किनारा कथा सङ्ग्रह ललिता दोषीद्वारा रचित १३ वटा कथाहरूको सँगालो हो । ललिता दोषी लगभग डेढ दशकदेखि नेपाली साहित्यमा देखा परेकी नारी प्रतिभा हुन् । उनी मनोविज्ञानलाई विविध कोणबाट हेर्ने नारी प्रतिभा हुन् । यिनका अधिकांश कथा नारीकै पीडा व्यथाका उपज हुन् । भत्किएका किनारा कथा सङ्ग्रहमा पनि यस्तै पीडा व्यथा व्यक्त भएको पाइन्छ । ललिता दोषीको कथा लेखनको महत्त्वपूर्ण पक्ष पात्रका मनोवैज्ञानिक तहको उद्घाटन गर्नु हो । तिनमा पनि नारी मानसिकताको चिरफार गर्नमा कथाकार बढी सफल देखिएकी छिन् । यस सङ्ग्रह भित्रका कथामा सामाजिकता, मनोवैज्ञानिक र विकृत जीवनको प्रतीक्षा छ । समाज र मनोविज्ञान दुवै पक्षको सुन्दर संयोजन यिनका कथामा  पाइन्छ । भत्किएका किनारा कथा सङ्ग्रहका कथाहरूमा नारी मनका सबै तहलाई छुने प्रयास गरिएको पाइन्छ।  
‘पुडकेको मोह’ कथा चेलीबेटी बेचबिखनको परिवेशमा रचिएको यस कथामा सासूको आग्रहलाई टार्न नसकी लोग्ने चेतनाथबाट दस बाह्र हजारमा सीमा पारि लगिएर बेचिएकी बिस - बाइस दिनकी सुत्केरी बाटुली आफू अठार बर्षकी भएर पनि पचास - पचपन्न वर्षको बुढो पुड्के सार्कीसित राम्रो खान लाउन नपाई रमाएरै बस्छे । यता आमाछोरा भूमिका र चेतनाथ भने बेच्ने अपराधमा जेल पर्छन्। ‘आँखा खुले’ कथामा एकोहोरो प्रेम गर्ने अमृतलाई विश्वास नगरेर उल्टै पागल प्रेमी सम्झने लैलाको नियास्रो जीवनको चित्रण छ । अन्तमा अमृतकै लागि भए पनि विधवासरी नबसेरविवाह  गर्न आँखा खुलेको वर्णन छ। ‘सङ्कल्प’ कथामा बुढी कन्या बसेको उमाका बारेमा चलेको हल्ला र कुमारी अवस्थामा नै गर्भ रहेको लाञ्छनाले आत्महत्या गरेकी रानुको अवस्था सम्झने शीलाले कुमारी नबस्ने बरू बिहे नै गर्ने सङ्कल्प गर्छे। ‘ शरण ’ कथा सासू र आफ्नै लोग्नेले हेला गरेर पेटभर खान नदिई जगल्टयाएर अनि सुत्केरी हुने बेलामा गोठमा राखेर सताइएकी बुहारी सानुमायाले आफ्नो छोरा कृष्णको डेरामा बस्दै गरेको बखत सौताले सताइएको सासू देवीका र लोग्ने कर्णलाई शरण दिएको घटना  छ । ‘बोक्सी’ कथामा स्कुले सानी केटी बिनुमा शकुन्तला मिसले बोक्सी भेनर सरल र अबोध नारीलाई त्यसमा पनि विधवालाई हेला गरेर आरोप लगाएको घटना छ । र कोही पनि बोक्सी हुँदैनन् भनेको प्रभाव पर्छ।  आफ्नी बुढी विधवा हजुरआमालाई पनि सोझी देखेर बोक्सी भन्छन् कि भन्ने विनुको बालमनोबैज्ञानिक प्रभाव देखाइएको छ । ‘भाषण’ कथामा आफ्नै लोग्नेको नारी महिमा र नारी अधिकार सम्बन्धी भाषण सुन्ने पुष्पा त्यही लोग्नेको चुटाइ, पर नारीसँगको अनैतिक सम्पर्क र रक्सीबाज स्वभावबाट आहत भएकी हुन्छे। अरू नारी र पुरुषलेसमेत त्यस्तो भाषण गर्नेको श्रीमती हुन पाउँदा खुसी हुनु पर्नेभन्दा पुष्पाको मानसिकतामा अझ चोट लाग्छ। 
भत्किएका किनारा कथा सङ्ग्रहमा कथाकरिताका बिषयगत र प्रस्तुतिगत निजी विशेषता छन् । यौनशोषण, नारीलाई भोग्या सम्झने प्रवृत्ति, विवाह  हुनुपूर्व किशोरीका मनका उठ्ने तर्क बितर्क , असफल प्रेमविवाह, चेलीबेटी बेचबिखन र आफ्नै पत्नीलाईसमेत पसल थापेर पैसा कमाउने दुसाहस् जस्ता नारी केन्द्रित बिषयलाई कथ्य बनाउनु यस कथा सङ्ग्रहको उल्लेख्य विषय हो । यस कथा सङ्ग्रहमा प्रस्तुतिगत दृष्टिले सरल , भाव - सम्प्रेष्य भाषाको प्रयोग छ। संवादको रुचिकर संयोजनले नटकीयता आएको छ।  भिन्न भिन्न सामाजिक परिवेशमा विशेष चरित्रको सिर्जना गर्दै रचिएका यी कथाहरूले नरनारीका दुर्घटित प्रणय सन्दर्भलाई छोएका छन् र  मनमा गहिरो प्रवाह छोडेर यी कथा टुङ्गिएका पनि छन् । पुरुषका सामु नारी अस्मिताले झेल्नुपरेका विवश क्षणहरूको चित्रण यस कथा सङ्ग्रहका कथाहरूमा गरिएको छ ।