Logo

Student Corner

घरदेखि डियरवाकसम्मकाे यात्रा

Written by: Rakshit Dahal - 22023, Grade XII

Posted on: 17 February, 2022

बिहान बिहान म सकी नसकी ६ बजेतिर उठ्छु । बिहान उठेपछि सबैभन्दा पहिला मुख धोएर दाँत माझ्छु । घरमा पाएकाे संस्कारअनुसार म मन्त्र जप्ने र सूर्यलाई जल अर्पण गर्ने काम गर्छु । त्यति गरिसकेपछि बाँकी रहेका गृहकार्य र कक्षाकार्यहरू पूरा गर्छु । सबै काम सकिएपछि सफा र राम्रो लुगा लगाएर म आमालाई “आमा खाना पस्किनु है ।" भन्दै ठुलो स्वरमा चिच्याउँदै जान्छु । बिहान बिहान पेट नदुखोस् भनेर दुध र भात खाने मेरो बानी छ ।

आमाले दिनुभएको खाना खाएपछि म इअरफोन लगाएर विपुल क्षेत्रीको असार र देउराली डाँडा भन्ने गीत सुन्दै घरबाट निस्कन्छु, केहीबेर हिँडेपछि म पशुपतिनाथ आइपुग्ने गर्दछु । पूजाका समान बेच्नलाई पसलेहरूको तँछाडमछाड हुन्छ । भगवान्‌को मन्दिर भएको हुनाले होला, यहाँ एकदम सकारात्मक भाव पनि आउने गर्दछ ।

म आउने बाटामा धेरै मन्दिरहरू छन् । पशुपतिनाथबाट अलिकति माथि लागेपछि म सिफलको जयवागेश्वरी मन्दिरमा आइपुग्छु । त्यहाँको भाव पनि छुट्टै छ । बिहान बिहान ताताे तेलमा डुबाउँदै पसलेहरू ताता ताता समोसा र पकाैडा पकाउँछन् । भात खाएर आए पनि त्यहाँ पुगेपछि भने मेरो मुख फेरि रसाउँछ ।

त्यहाँबाट केहीबेर हिँडेपछि म डियरवाक सिफल स्कुलकाे जुनियर ब्लकमा आइपुग्छु । साना साना बच्चाहरू आफ्ना आमाबुबालाई बाई बाई भनेर आफ्ना साथीहरूसँग गफ गर्दै गेटभित्र छिर्छन् । मलाई पनि आफू त्यसरी नै स्कुल गएका दिनहरूको सम्झना आउँछ । अस्ति भर्खरै कक्षा १० को अन्तिम परीक्षा रद्ध भएजस्तो लाग्छ तर अहिले हेर्यो भने कक्षा १२ का दिनहरू पनि सकिन लागेका छन् । साथीहरू, गुरुबा र गुरुआमाहरूसँग रमाइलाे गर्दै पढ्दै गर्दा हेर्दा हेर्दै कति छिटो समय बित्याे थाहा नै भएन । यति कुरा सम्झिँदै म गार्ड दाइलाई गुड मर्निङ भन्दै साथीहरूसँग ब्याडमिन्टन खेल्न जान्छु ।