Logo

Student Corner

गाईजात्राको सम्झना

Written by: Joya Shrestha - 25004, Grade IX

Posted on: 14 February, 2022

गएको भदौ महिनामा हामीले गाईजात्रा मनायौँ ।  गाईजात्रा नेवार जातिले मनाउने महत्त्वपूर्ण चाड हो । मेरो हजुरबुबाको मृत्यु भएकाले हाम्रो संस्कार अनुसार यस पटक हामीले गाईजात्रा निकालेका थियौँ । गाईजात्रा मानिसको मृत्यु भएको एक वर्षभित्र निकाल्नुपर्छ। हामी भदौ ७ गते गाइजात्रा निकाल्न धुलिखेल गएका थियौँ । गाईजात्रा निकाल्दा सबैले आफ्नो मूल घर गएर निकाल्नुपर्छ । मेरो पनि मूल घर धुलिखेल भएको हुनाले हामी धुलिखेल गयौँ । भदौ ७ गते हामी बिहान छिटो उठेर नुवाइधुवाइ गरेपछि धुलिखेल गयौँ । धुलिखेल गएपछि बाबाहरू दाइहरू र बाजेहरू मिलेर रथ बनाउन थाल्नुभयो । म र बहिनी चाहिँ घुम्न निस्कियौंँ । मामुहरू भोज तयार गर्न थाल्नुभयो ।
बाबाहरूले रथलाई फूल, बेलुन र राम्रो कपडाले बेरेर सिँगार्नुभयो । रथ तयार भएपछि रथ निकै राम्रो देखियो । त्यसमा बाबाले हजुरबुवाको फोटो राख्नुभयो । फोटो राखेपछि हामीले त्यहाँ पूजा गर्‍यौँ । म र मेरी बहिनी चाहिँ रथको अगाडि बसेर रथमा फूल चडाउँदै मन्दिर घुमाउन लैजानुभयो । दाइ र भिनाजु मिलेर रथ बोक्नुभएको थियो। हामी त्यो रथ लिएर धुलिखेल मन्दिर घुम्यौँ । त्यहाँ हाम्रो जस्तै धेरै मानिसको गाईजात्रा निकालेका थिए । मेरो बाबा गाई बन्नुभएको थियो । उहाँ गाई बनेर मन्दिर घुम्न जानुभएको थियो । त्यहाँ मेरा धेरै आफन्तहरू पनि आउनुभएको थियो । लकडाउन राम्ररी नखुले तापनि जसोतसो हामीले गाइजात्रा मनायौँ । उता कोरानाको डर कायमै रहेकाले कोराना सर्छ कि भन्ने डर पनि उत्तिकै थियो । जे होस हामीले सकेसम्म सुरक्षा सावधानी अपनाएका थियौँ । त्यही बेला हामीले लाखे नाच पनि हेरेका थियौँ । नेवारी धिमे, बाँसुरी आदि बाजा बजाएर धेरैले रथ निकालेका थिए । रथ निकाल्ने कार्यक्रम सकिएपछि मानिसहरूले नाटक पनि देखाएका थिए । त्यसपछि हामी भोज खायौँ  र रमाइलो गर्‍यौँ । रात पर्न थालेको थियो । त्यसपछि हामी सबै काठमाडौँ फर्कियौँ  ।