Logo

Student Corner

सरसफाइ

Written by: Bishrant Sitaula - 32006, Grade II

Posted on: 14 February, 2022

हामी सधैँ सफा सुग्घरी भएर बस्नुपर्छ । राम्रोसँग नुहाएर, हात गोडाको नङहरू काटेर, कपाल कोरेर , दाँत माझेर, सफा र सुकिलो कपडा लगाएर बस्नुपर्छ । यसरी सफा सुग्घर भएर बस्दा विभिन्न रोगहरू लाग्ने डर हुँदैन। त्यसका साथै हामी राम्रो र आकर्षक पनि देखिन्छौँ।  आफ्नो शरीरको साथसाथै आफू बस्ने ठाउँहरूको सरसफाइमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । आफ्नो घर-आँगन, भान्सा सधैँ सफा राख्नुपर्छ । सधैँ बिहान उठिसकेपछि आफ्नो ओछ्यान मिलाउने, छरिएका समानहरू, किताबहरू मिलाउने गर्नुपर्छ । घरको वरिपरि फोहोरमैला गर्नुहुँदैन। पानी जम्ने खाल्टाखुल्टीहरू छन् भने पुर्नुपर्छ, नत्र विभिन्न  किसिमका किराहरू र लामखुट्टेहरू आउने र बस्ने गर्छन् । जमेको पानीमा बस्ने लामखुट्टेले डेंगु रोग सार्ने डर धेरै हुन्छ। फोहोरमा बसेर आएको झिङ्गा र किराहरूले हामीहरूलाई  झाडापखाला जस्ता रोगहरू लाग्ने डर हुन्छ। घरबाट निस्कने फोहोरहरूलाई एउटा भाँडाेमा जम्मा गरेर राख्नुपर्छ, अनि फोहोर मैला लिन आउने गाडीलाई दिनुपर्छ । फोहोर पनि धेरै किसिमका हुन्छन् । गल्ने र कुहिने  फोहोरलाई अलग, नगल्ने फोहोर लाई अलग अनि सिसा फलाम जस्ता फोहोरलाई अलग भाँडाेमा जम्मा गरेर राख्न सकियो भने धेरै राम्रो हुन्छ।  गल्ने फोहोरबाट मल बनाएर फलफूल को बिरुवाहरूमा हाल्न सकिन्छ । फूलहरू रोप्नाले हाम्रो घर वरिपरिको वातावरण सफा र सुन्दर देखिन्छ।