Logo

Student Corner

पुस्तक समीक्षा: अमेरिका उपन्यास

Written by: Sunabi Pokhrel - 25018, Grade X

Posted on: 11 February, 2022

 विषय प्रवेश
“अमेरिका” उपन्यास लेखिका गङ्गा लिगलद्वारा लिखित एक उत्कृष्ट उपन्यास हो । गङ्गालिगल एक सशक्त नारी हस्ताक्षरको रूपमा साहित्य जगतमा देखा परेकी छन् । अमेरिका उपन्यास उनका प्रकाशित कृतिहरूमध्ये पन्ध्रौँ स्थानमा पर्छ । अमेरिका उपन्यास उनको उत्कृष्ट रचना हो । अमेरिका उपन्यास लेखिका गङ्गा लिगलले वि. सं. २०७० मा भानु द्विशतवार्षिकी महोत्सवको अवसरमा भानुवर्ष २०१३ को शोभा बढाउने उद्देश्यका साथ प्रकाशन भएकाे बुझिन्छ । यस उपन्यासमा जम्मा ७६ पृष्ठ रहेका छन् र उपन्यास भने १५ खण्डमा विभाजित छ।

कथावस्तु
उपन्यास पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरीको प्राकृतिक सुन्दरताको वर्णनबाट सुरु भएको छ । उपन्यास गुल्मीका शुभम र रामपुरकी सुहानाले आफ्नो पढाइ पूरा गर्दै गरेको समयमा माया साटासाट गरेको र त्यसपछिको उनीहरूको जीवनयात्रामा केन्द्रित  छ । उपन्यास पढ्दा लेखिकाले आफ्ना जीवनदर्शनका धारणालाई उपन्यासमा प्रस्तुत गर्न अनुमान लगाउन सकिन्छ । शुभम र सुहानाको माता पितालाई उनीहरूको प्रेम सम्बन्ध  थाहा भएपछि, उपन्यासमा जात, पातको पनि कुरा उठेकाे छ तर त्यसले उनीहरूको सम्बन्धमा कुनै बाधा आउँदैन । शुभमले काठमाडौँमा पढाइ पूरा गर्छ र सुहानाले कलेजमा पढाउन थाल्छे। कथामा सबै कुरा सही भएको त कसैलाई पनि मन पर्दैन होला, त्यसैले शुभमले अमेरिकाको भिसा पाएको कुराले कथावस्तुलाई चाखलाग्दो बनाउँछ । शुभम अमेरिका जान्छ र पढाइ पूरा गरेर, पैसा कमाएर सुहानासँग विवाह गर्न नेपाल फर्कन्छ। अन्तरजातीय विवाह गर्न नहुने भए पनि आआफ्ना मातापितालाई फकाएर, दुवै परिवारमा मेलमिलाप हुन्छ । विहेको तयारी गर्दा शुभम गाडी दुर्घटनामा परेपछि २ महिना अस्पतालमा बिताउनु परेपछि बिहेमा बाधा आउँछ। बिहेमा शुभमको दुर्घटनादेखि लिएर केल्ली ब्राउन भन्ने केटीले शुभामसँगको प्रेममा केही बाधा पुराउँछे । तर पनि बिहे सम्पन्न हुन्छ । 
केल्ली शुभमकी अमेरिका सँगै पढ्दाकी साथी हाे । ऊ एकाेहाेराे शुभमलाई मन पराउँथी । शुभम भने उसलाई साथीकाे रूपमा मात्र हेर्थ्याे । विवाहपछि केल्लीले शुभमलाई अमेरिकामा गोली हान्छे । तर शुभम बाँच्छ र सुहाना पनि अमेरिका आउँछे। सुहानाले अमेरिकामा एक संस्था खोलेर नेपाली भाषा अमेरिकामा बसाेबास गर्ने नेपालीलाई सिकाउँछिन् । उनीहरूकी एक छोरी जन्मिएपछि बुवा आमालाई अमेरिका बोलाउँछन् । जब केल्लीले दाेस्राे पटक शुभममाथि गोली चलाउँछे तब सुहानाले पुलिसलाई बोलाएर ज्यान बचाउँछे । सुहानाले नेपाली भाषा र संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्य सफल हुन्छ । 
शुभमलाई नेपालमा आफ्नाे भाइकाे व्यवसाय डुब्न थालेपछि पारिवारिक तनाव बढ्दै जान्छ । अमेरिकामा आफूले राम्राे आर्थिक लाभ गरे पनि घरपरिवारकाे तनावले ऊ खुसी हुन सक्दैन । एक दिन मन बहलाउन सबै परिवार घ्म्न जाने क्रममा पछाडिबाट गाडीले ठक्कर दिएपछि  उपन्यासकाे कथानक सकिएकाे छ ।

पात्रविधान
उपन्यासका पात्रहरूएक सामान्य परिवारमा हुने सदस्यहरू जस्तै छन् । धेरै पात्रहरूका सोच, व्यवहार, हामीले आफ्नै परिवारमा अथवा जहाँ पनि देख्न सकेका हुन्छौँ । कथाका मुख्य पात्र शुभम र सुहाना रहेका छन् र दुवै पक्षका परिवार बुझक्की छन् । उपन्यासमा नेपालमा धेरै जसो परिवारमा हुने सासु बुहारीको सम्बन्ध जस्तो सम्बन्ध सुहाना र शुभमकी आमाको छैन । शुभमकी आमा बुझक्की छिन् र आफ्नी बुहारीलाई छाेरीलाई जस्तै माया गर्छिन् । सुहाना असल र मिहिनेती छिन् र आफ्नो सोचलाई सफल र सार्थक बनाउन उनले धेरै मेहेनत गरिन् । उपन्यासमा  केल्ली एक प्रतिकूल पात्रको रूपमा देखिएकी छिन् । केल्लीले शुभम र सुहानाप्रति गरेकाे व्यवहार तथा घटनाले याे कुरा पुष्टी हुन्छ ।

परिवेश
उपन्यासमा नेपालको गुल्मी, रामपुर,पाल्पा,काठमाडौँदेखि अमेरिकाको क्यालिलिफोर्निया, न्युयोर्क, वासिङ्टन डिसी, पार्क, र मन्दिरहरूजस्ता ठाउँहरूको परिवेश प्रस्तुत गरिएको छ। यस उपन्यासकाे परिवेश व्यापक रहेकाे छ ।

भाषाशैली
अमेरिका उपन्यासको भाषाशैली पनि सरल छ । लेखिकाले धेरै ठाउँमा नेपाली शब्दकाे प्रयाेग नगरी  अङ्ग्रेजी शब्दहरूको प्रयाेग गरेकी छन्  ।  त्यसकारण धेरै युवा पाठकहरूलाई यस किताबले आकर्षित गरेको छ । सरल शब्दमा लेखेकाे  छोटो उपन्यासले धेरै पाठककाे  मन जितेकाे  छ । 
निष्कर्ष
उपन्यासमा युवायुवातीहरूबिच हुने शारीरिक आकर्षण र प्रेम सम्बन्ध, एउटी नारीले गर्नुपरेकाे सङ्घर्ष, नेपाली समाजले देख्न नसक्ने अन्तर जातीय विवाह र त्यसपछिका विविध पारिवारिक घटना क्रमलाई देखाउन खाेजेकाे छ । विदेशमा बसे पनि स्वदेशप्रतिकाे माया, भाषा र संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने कुरा यहाँ देखाइएकाे छ । समग्रमा उपन्यास स्वदेश र विदेशको सामाजिक, सांस्कृतिक, धार्मिक, पारिवारिक, तथा प्राकृतिक सुन्दरताको जीवन्त चित्रण  गर्न सक्षम भएकाे छ ।