Logo

Student Corner

बच्चाहरूका लागि गुणस्तरीय शिक्षा

Written by: Pranjal Khatiwada - 23030, Grade XI

Posted on: 10 February, 2022

बच्चाहरू समाजकाे निर्माणसम्बन्धी एउटा महत्त्वपूर्ण खण्ड हुन् । भनिन्छ बच्चाहरू हाम्रो राष्ट्रका भविष्य हुन् । याे कुरा एकदम सही हो कि उनीहरू हाम्रो राष्ट्रका भविष्य हुन् र हाम्रो राष्ट्रको भविष्य राम्रो बनाउनका लागि बच्चाहरूलाई गुणस्तरीय शिक्षा दिनु एकदम आवश्यक छ । जबसम्म हाम्रो देशका सबै बच्चाहरूका लागि गुणस्तरीय शिक्षाको प्रबन्ध हुँदैन, तबसम्म हाम्रो देश समृद्ध हुने बाटोमा लाग्न सक्दैन । हाम्रो देशको संविधानले शिक्षालाई मौलिक हकको रूपमा स्थापित गरेको छ । शिक्षा पाउनुपर्छ भन्ने अधिकार हाम्रो संविधानमा भएको सबैभन्दा महत्त्वपूर्ण मौलिक अधिकारहरूमध्ये एक हो तर पनि विशेष गरी दुर्गम क्षेत्रमा धेरै बालबालिकाहरू यस अधिकारबाट वञ्चित छन् तर यसको मतलब सहर क्षेत्रका हरेक बालबालिकाले गुणस्तरीय शिक्षा पाइरहेका छन् भन्ने पनि होइन । सहरमा भएका बालबालिकाहरू पनि आर्थिक कठिनाइ होस् या जातीय भेदभाव र विशेष गरी लैङ्गिक विभेदका कारणले  शिक्षा प्राप्त गर्नबाट वञ्चित भइरहेका छन् ।

हरेक बालबालिकालाई गुणस्तरीय शिक्षाको अधिकार प्राप्त गराउन एकदम आवश्यक छ । हाम्रो सरकारले बालबालिकालाई विद्यालय जाने अवस्था सिर्जना गर्ने र गुणस्तरीय शिक्षा प्राप्त गराउने कुरामा प्रभावकारी रूपमा काम गर्नुपर्छ । प्रत्येक विद्यालयलमा विद्यार्थीहरूले आफूलाई सबै तरिकाले आफ्नो कला र आफूलाई भन्न मन लागेका कुराहरू व्यक्त गर्न सक्ने खालको सुरक्षित विद्यार्थीमैत्री वातावरण चाहिन्छ त्यसैले विद्यार्थीमैत्री वातावरण बनाउनुपर्छ । राम्रो भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्छ तर हाम्रो देशका दुर्गम क्षेत्रका विद्यालयमा यस्ता सुविधाको अभाव छ । सरकारले विशेषगरी दुर्गम क्षेत्रमा र त्यसपछि सहरी क्षेत्रको शिक्षा क्षेत्रको विकासलगायत विभिन्न नियमहरूको स्थापना गराउनुपर्छ र एकजुट भएर बच्चाहरूको भविष्य सुधार्ने भन्ने लक्ष्यका साथ काम गर्नुपर्छ । शिक्षा क्षेत्रलाई सशक्तीकरण गरी गुणस्तरीय शिक्षा दिने काम गर्नुपर्छ । दुर्गम क्षेत्रहरूमा विभिन्न उन्नत सिकाइ उपकरणहरू उपलब्ध गराउनुपर्छ । शिक्षा भन्ने जुन एउटा क्षेत्र छ, त्यसलाई सरकारले समग्र रूपमा गुणस्तरीय र सस्तो हुने तरिकाले अरूसामु प्रस्तुत गराउनुपर्छ ताकि हाम्रा देशका भविष्यहरू शिक्षा प्राप्तितर्फ लाग्न सकुन् र त्यो स्थापना गर्नमा  सरकारको ठुलो भूमिका हुने छ ।

बालबालिकालाई शिक्षा प्रदान गर्न अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ । हाम्रा बालबालिकाको शिक्षामा अभिभावकको भूमिका आर्थिक पक्षमा मात्र आवश्यक हुन्छ भन्ने हाम्रो देशमा पुरानो जमानाको सोच छ तर यो सही कुरा होइन । आर्थिक आवश्यकताहरूको साथमा आमाबाबुले घरमा आफ्ना बच्चाहरूका लागि उपयुक्त पढ्न मन लाग्ने वातावरण सिर्जना गर्न जिम्मेवार हुनुपर्छ । उनीहरूले आफ्ना छोराछोरीलाई निरन्तर जाँच गर्नुपर्छ र विद्यालयका गतिविधिहरूमा पनि उपस्थित हुनुपर्छ, ताकि बच्चाहरूले के गरिरहेका छन् भन्ने कुरा थाहा हुन्छ र अझै कसरी उनीहरूको भविष्य सुधार्न सकिन्छ भन्नेजस्ता अरू विभिन्न कुरा थाहा हुन्छ, जसले उनीहरूलाई आफ्ना छोराछोरीलाई राम्रो बाटामा लगाउनमा मद्दत गर्दछ । छोराछोरीलाई अभिभावकले पढाइमा उत्प्रेरित गर्नुपर्छ । उनीहरूलाई जबरजस्ती गरेर पढ, पढ, भन्नुमा कुनै पनि फाइदा हुँदैन ।

कुल मिलाएर बालबालिकाहरू कुनै न कुनै रूपमा विद्यालयमा उपस्थित हुन्छन् तर उनीहरूलाई उपयुक्त रूपमा सिकाइको वातावरणसहित गुणस्तरीय सिकाइ उपलब्ध गराउनु अभिभावक र सरकारको ठुलो दायित्व हाे । बच्चाहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्नु भनेको आफ्नो परिवार र आफ्नो देशका लागि फाइदाजनक कुरा हो किनभने यदि हाम्रा बच्चाहरूले राम्रो शिक्षा पाए भने उनीहरूले आफ्नो देशको विकास र उन्नतितर्फ ठुलो योगदान गर्न सक्छन् । देशमा रहेर उनीहरू देश विकास गर्न सक्छन् र बाहिर गएर पनि नयाँ नयाँ कुरा सिकेर आएर यदि देशको विकासमा सहयाेग पुर्याए भने देशको भलो हुने छ र त्यसको ग्यारेन्टी भनेको गुणस्तरीय शिक्षा बच्चाहरूलाई प्राप्त गराउनुबाट हुन्छ ।