Logo

Student Corner

कर भनेको के हो ?

Written by: Arya Tharu - 22006, Grade XII

Posted on: 08 February, 2022

कर भनेको हामी सबैले सधैँ सुन्दै र तिर्दै आइरहेका छौँ तर खासमा कर भनेको के हो ? कर एक अनिवार्य वित्तीय शुल्क हो वा विभिन्न सरकारी खर्च तिर्न सर्वसाधारणबाट उठाइएको शुल्क हो । सरकारले हरेक वस्तु, साधन, हरेक मानिसको आम्दानी तथा व्यापारिक नाफामा कर लगाएको हुन्छ । कर समयमा भुक्तानी गर्न असफल भएमा वा कर छली गरेमा कानुनले दण्ड दिने हक पनि रहेको हुन्छ । देशको राजस्व आम्दानी गर्न संसारका लगभग हरेक देशमा कर लगाइएको हुन्छ । करहरू धेरै प्रकारका हुन्छन्, जस्तैः सम्पत्ति कर, आय कर, बिक्री कर, मूल्य अभिवृद्धि कर र अन्य ।
कर भनेको जनताबाट पैसा उठाउने सरकारको माध्यम हो । कर कुनै पनि देशका लागि धेरै महत्त्वपूर्ण हुन्छ किनभने कर हामी सर्वसाधारणको हितमा नै प्रयोग हुन्छ । सरकारले करको मद्दतले नै हामीलाई सुविधाहरू दिने गर्दछ । सरकारले करको माध्ययमबाट नै स्वास्थ्यको सुविधा, शिक्षाको सुविधा, सुरक्षाको सुविधा र अन्य थुप्रै सुविधाहरू प्रदान गर्छ र सरकारका लागि काम गर्ने हरेक कर्मचारीको ज्याला र तलब यही करबाट दिइन्छ ।

धेरै मानिसहरूले प्रत्येक वर्ष, प्रत्येक दिन कर तिरेको गुनासो गर्छन् र सबै करहरू सरकारको खल्तीमा जान्छ भन्ने कुरा सोच्छन् तर त्यस्तो नभएर सरकारले विभिन्न विकास कार्य र जनताको कल्याणमा कर प्रयोग गर्छ । कसले तिर्ने भन्ने आधारमा करलाई विभिन्न किसिममा वर्गीकरण गरिएको छः प्रत्यक्ष र अप्रत्यक्ष कर ।

प्रत्यक्ष कर व्यक्तिहरूमा लगाइने कर हाे । प्रत्यक्ष कर करदाताको कुल आम्दानीमा लगाइन्छ । प्रत्यक्ष कर भन्नाले कुनै व्यक्ति वा संस्थाले उक्त संस्थालाई प्रत्यक्ष रूपमा तिर्ने कर हो । उदाहरणको लागि हामीले विभिन्न सम्पत्ति कर, आय कर, बिक्री करहरू सिधै सरकारलाई तिर्छौं । धेरै मानिसहरूलाई थाहा नहोला कि व्यावहारिक रूपमा सबैले कर तिर्छन्, विशेष गरी अप्रत्यक्ष करहरू । यो किनभने हामीले उपभोग गर्ने लगभग सबै उत्पादनहरूमा कर लगाइएको हुन्छ । सरल भाषामा परिभाषित गर्नुपर्दा अप्रत्यक्ष कर भन्नाले कुनै व्यक्ति वा संस्थाले उक्त संस्थालाई अप्रत्यक्ष रूपमा तिर्ने कर हो । अप्रत्यक्ष करहरू वस्तु र सेवाहरूको उत्पादन वा आयात र निर्यात वा लेनदेनहरूमा लगाइन्छ । अप्रत्यक्ष करहरूमा बिक्री कर, अन्तःशुल्क कर, भन्सार करहरू समावेश हुन्छन् ।