Logo

Student Corner

लुडविग भ्यान बिथाेभेन

Written by: Sashwat Paudel - 23038, Grade XI

Posted on: 08 February, 2022

लुडविग भ्यान बिथाेभेन एक जर्मन पियानोवादक र सङ्गीतकार थिए, जाे व्यापक रूपमा संसारका सबैभन्दा उत्कृष्ट सङ्गीतकार मानिन्छन् । बुबा जोहान भ्यान बिथाेभेन र आमा मारिया माग्डालेना केभेरिचका जेठा छोरा लुडविग भ्यान बिथाेभेनको जन्म डिसेम्बर, १७७० मा जर्मनीको बोनमा भएको थियो । उनी सङ्गीतकारले भरिएको परिवारमा जन्मिएको थिए । उनको बुबा जोहान भ्यान बिथाेभेन एक फ्लेमिस-जर्मन सङ्गीतकार, शिक्षक तथा गायक थिए जाे कोलोनको आर्कबिसपको च्यापलमा प्रस्तुति गर्थे । बिथोभेका बुबा मदिरा सेवनको कुलतमा फसेका थिए र लुडविगलाई दुर्व्यवहार गर्थे । दुर्व्यवहार गरे पनि सुरुवाती चरणमा कठोर र गहन रूपमा उनले बिथाेभेनलाई सङ्गीत सिकाएका थिए । बिथाेभेनको सङ्गीत प्रतिभा सानै उमेरमा देखिएकाले जोहानले उनको उमेर घटाएर वास्तविकताभन्दा कम उमेरको देखाउने अनेक प्रयास पनि गरेका थिए । अपमानजनक परिवारमा हुर्के पनि उनले सङ्गीतलाई अँगाले र इतिहासकै सर्वश्रेष्ठ रचनाकारहरूमध्ये एक बन्न पुगे । 

लुडविग भ्यान बिथाेभेनले लेखेका र प्रदर्शन गरेका अनेक कृतिहरू पश्चिमी सङ्गीत इतिहासमा रहेका प्रशंसनीय कृतिहरूमध्ये पर्दछन् । उनका कृतिहरू पश्चिमी शास्त्रीय सङ्गीतमा व्यापक रूपमा प्रदर्शन भएका कृतिहरूको माझमा पर्छन् । उनको सङ्गीतलाई भावनामा परिणत गर्ने क्षमताका कारणले उनलाई इतिहासकै सबैभन्दा प्रतिभाशाली सङ्गीतकारको रूपमा चिन्ने गरिन्छ ।

बिथाेभेन केवल यही कारणले मात्रै सफल भएका हैनन् । उनको जीवनबाट हामीले असङ्ख्य प्रेरणा पाउन सक्छौँ । छब्बिस वर्षको कलिलो उमेरदेखि नै उनले बहिराेपन महसुस गर्न थाले । सङ्गीतकार हुनुको ठुलो हिस्सा भनेको आफूले रचना गरेका सुमुधुर धुनहरूको मज्जा लिनु हो । बिथाेभेनले अब यो कार्य गर्न सक्दैनथे । उनको बहिराेपन अस्थिर र  प्रगतिशील थियो । प्रगतिशील भएका कारण उनले एक्कासि आफ्नो श्रवण शक्ति गुमाएका थिएनन् । उनको बहिराेपन अलिकति अलिकति  गर्दै समयसँगै खराब हुँदै गयो । आफ्नो ब्यथा उनले “heiligenstadt testament” मा पोखेका थिए, “तर कस्तो अपमान, जब मेरो छेउमा बसेकोले टाढा टाढाबाट बाँसुरीको सुमुधुर धुन सुन्ने मौका पायो तर मैले केही पनि सुनिनँ । कसैले दुर कतै गोठालाले गएको सुन्यो तर फेरि मैले केही पनि सुनिनँ । यस्ताे घटनाले मलाई निराशाको छेउमा पुर्याएको थियो र मैले मेरो जीवनको अन्त्य गर्ने सोचेँ तर केवल कलाले मलाई रोकेको थियो । यो संसार त्याग्न तबसम्म असम्भव मानेँ, जबसम्म मैले आफूले उत्पादन गर्न सकेजति नगरेसम्म । त्यसैले मैले यो दयनीय अस्तित्व सहेर बसेँ ।”

बहिरो हुनु सामान्य मानिसका लागि पनि सुखद अनुभव हैन । शरीरका लागि महत्त्वपूर्ण हुने इन्द्रियहरूमध्ये एक गुमाउनु जोसुकैका लागि डरलाग्दो हुन्छ । एक प्रतिभाशाली सङ्गीतकारले आफ्नो श्रवण शक्ति गुमाउनु भनेको आफ्नो जोस तथा आफ्नो जीवनको भविष्यलाई जोखिममा राख्नु हो । बिथाेभेनको भविष्यका लागि यो ठुलो चुनौती थियो किनभने श्रवण शक्ति गुमाउनु भनेको सङ्गीतको आधा हिस्सा गुमाउनु हो ।

आश्चर्यको कुरा के हो भने बिथाेभेनले आफ्नो कार्यकालका सबैभन्दा प्रतिष्ठित र व्यापक रूपमा ज्ञात कृतिहरू यही समयमा लेखेका थिए । उनले सुन्न नसके पनि आफ्नो प्रतिभाको प्रयोग गरेर कृतिहरू रचना गरेका थिए । उनी आफूले प्रदर्शन गर्न नसके पनि रचना गर्थे तर प्रदर्शन गर्ने काम कोही आर्कै व्यक्तिले गर्थे । मुनलाइट सोनाटा, ह्यामरक्लाभियर र अन्य सिम्फोनीहरू उनले आफू बहिरो हुँदै गर्दा रचना गरेका थिए । नवाैँ सिम्फाेनी लेख्दा त उनी पूर्णतया बहिरा नै थिए । उनी यी कृतिहरू रचना गर्दा पूर्ण रूपमा बहिरा भए पनि यी रचनाले बिथाेभेनलाई पश्चिमी शास्त्रीय सङ्गीतमा पौराणिक व्यक्तित्वको स्थान दिलाएका छन् ।

५६ वर्षको उमेरमा उनले आफ्नो अन्तिम श्वास फेरे ।  उनको जीवनबाट हामीले बुझ्न सक्छौँ कि जस्तो परिस्थिति आइपरे पनि हार मान्नु हुँदैन । बिथाेभेनले हार मानेका भए उनका सबैभन्दा प्रसिद्ध रचनाहरूमा जस्तै “सि माइनर, ओपमा सिम्फाेनी नम्बर ५” आज हुने थिएनन् । मुनलाइट सोनाटाजस्ता रचनाहरू हुने थिएनन् । सङ्गीतकलाका माध्यमबाट भावना महसुस गराउने शक्ति भएका लुडविग भ्यान बिथाेभेन एक उत्कृष्ट सङ्गीतकार हुन् र उनका रचनाहरूले विश्वव्यापी सफलता हासिल गरेका छन् ।