Logo

Student Corner

चारवर्ष पछिको मेरो गाउँको यात्रा

Written by: Niharika Chapagain - 25006, Grade IX

Posted on: 08 February, 2022

काठमाडाैँ आएकाे करिब चार वर्षपछि म मेरो जन्मस्थल जाँदै थिएँ । काठमाडौँ आएपछि म पहिलाे पटक मेराे गाउँको घर हेर्न झापा गएकी थिएँ । झापा छिट्टै पुग्ने अभिप्राय लिएर हामी बिहान ३०० बजेतिर घरबाट हिँड्‌यौ । हामी आफ्नै साधनमा म, बाबा, आमा र दाइ भएर झापाका लागि प्रस्थान गर्‍यौँ । भक्तपुरको बाटो धुलिखेल हुँदै हामी सिन्धुली बर्दिबास पुग्‍यौँ । बिहानको ताजा सिरसिर हावामा रमाउँदै जाँदा मन प्रफुल्लित थियो।
करिब ६ :०० बजेतिर हामी सुनकोशी किनार हुँदै अघि बढ्यौँ । गाडीको झ्याल खोलेर ताजा हावा लिँदै आफ्नो गन्तव्यमा तल्लिन थियौँ । सिन्धुली पुगेपछि हामीलाई नयाँ बाटो र नयाँ ठाउँ भ्रमण गर्न मन लाग्यो । त्यसैले हामी भिमान भएर गाईघाटको बाटोतर्फ लाग्यौँ । गाईघाट जाने बाटो सुन्दर रहेछ । प्रत्यक्ष रूपमा नभए पनि खोलामा बगेको कलकल सफा कञ्चन पानीले हाम्रो तन मनलाई शीतलता दिएको अनुभव गर्थ्यौं । त्यसैमा हरियो वन र त्यहाँको खेती बालीले हाम्रो मनलाई मोहित बनाएको थियो ।
सानाठुला नदीखाेला हुँदै विभिन्न बोटविरुवा हेर्दै आफूलाई थाह भएसम्मका कुरा बाबाले हामीलाई बताइदिनु हुन्थ्यो । काठमाडौँमा बसे पनि गाउँको माया र पहाडी बाटोको मायाँ मनभरि साँचीएको रहेछ । हुनतः प्रकृतिमा नरमाउने मानिस सायद कमै होलान् । त्यसै मध्येकी म पनि एक थिएँ । मलाई पनि ससाना खोला देखेर खोलामा पसेर खोलासँग केही क्षण खेल्न मन लाग्यो । बाबा आमालाई पनि आफ्नो बालापनको याद आएछ । गाडीबाट झरेर जुत्ता खोलेर हामी खोलामा पस्यौँ । खोलाको चिसो पानीले मेरो शरीरमा काँडा उठाइदिए । बाहिरबाट सानो देखिए पनि खोलमा गएपछि गहिरो देखेर म छक्क परेँ । सानै भए पनि खोलामा पानीको दबाब बढी नै थियो । त्यसैले हामी धेरै भित्र गएनौँ । त्यो अनुभव अहिले सम्झिँदा मन खुसीले फुरुङ हुन्छ । यस्तै आनन्द लिँदै हामी बिस्तारै पहाडको दृश्यमा रमाउँदै हामी मेरो प्याराे गाउँ झापा दमक पुग्‍यौँ ।