Logo

Student Corner

साथीकाे बिदाइ

Written by: Safal Gautam - 22016, Grade XII

Posted on: 07 February, 2022

१२ कक्षा उत्तीर्ण भएपछि हामी मात्र नभई हामीजस्ता कति विद्यार्थीहरू आफ्नो बाँकी पढाइ पुरा गर्न विदेश जाने गर्दछन् । मैले अहिले “किन गएको ? नेपालमै बसेर पढे हुन्छ नि ।” भन्न वा जताउन खोजेको चाहिँ होइन ।

मेरो शीर्षकबाटै थाहा पाइसक्नुभयो होला । सबै त भन्दिनँ म तर हामी धेरैजना एक न एकचोटि आफ्नो साथी वा आफन्तलाई बिदाइ गर्न एयरपोर्ट गएको छौँ होला । म गएको छु र जान लागेको छु, जब मेरो साथी वा कोही एकदम मिल्ने आफन्त विदेश जान लागेको छ ।
पहिले त मलाई “विदेश त गएको हो, फर्किहाल्छ चाँडै । किन सधैँभरिका लागि जान लागेको जस्तो गरेर बसेको ?” भन्ने भावना आउँदथ्यो तर म एकदम गलत रहेछु । पछि गएर कुनै दिन त्यो देखिराख्ने मानिस गएको असर पर्न थाल्दाे रहेछ ।

मैले सुरुमा यस्तो भावना कक्षा ५ मा महसुस गरेको थिएँ । म भर्खरभर्खर जन्मिएर १८ दिनकाे हुँदा इटाली जानुभएको मेरो सानो बुबा कति वर्षपछि नेपाल आउनुभयो र आफूसँगै सानी ममी र मेरी सानी बहिनीलाई पनि ल्याउनुभयो । मलाई अझै पनि याद छ, जब उहाँ फिर्ता जाने दिन थियाे, मलाई त्यस्ताे ठुलो असर केही पनि परेन । पछि मात्र महसुस भयो कि उहाँ त दुनियाँको अर्को कुनामा हुनुहुुन्छ त । अस्ति चितवनबाट २ दिनमै फर्किएजस्तो कहाँ मिल्छ र ?

अर्को कुरा भनेको चाहिँ मात्र एक आमा अथवा बुबाले महसुस गर्न सक्ने कुरा हो । आफ्नो छोरा विदेश एक्लै जाँदै छ ? र एक्लै आउँछ ? थाहा हुँदैन । किन मैले यो कुरा उठाएँ भन्दा मेरी हजुरआमा सानो बुबा फिर्ता जाँदा रोएको मलाई याद आउँछ । सानो बुबा फेरि पछि पनि ४ चोटि फिर्ता आइसक्नुभयो तापनि मलाई यही भावनाले हरेक पटक असर गरिरहन्छ ।

अर्को किस्सा भने मेरो साथीसँग सम्बन्धित छ । अचम्मको कुरा यो रहेको छ कि मलाई आफैँ थाहा छैन कि को साथी कता गयो भनेर । धेरै साथीलाई सोधेँ पनि कि कता छस् ? भनेर । कोही १० कक्षा सकेपछि नै पढ्न भनेर विदेश गइसकेछन्, काेही भने ११ पास भएर फेरि विदेश जाने अनि ११-१२ त्यहीँ गर्ने भनेर बसिरहेछन् ।

तिनै साथीहरूमध्ये अस्ति एकदमै मिल्ने साथी स्विट्जरल्यान्ड गयो पढ्न । एयरपोर्ट जाने योजना त थियो मेरो तर साथी दिउँसो जाँदै थियाे र मेरो पढाइ हुने बेला भएको कारणले उसकाे बिदाइमा जान पाइनँ । अझै पनि म विश्वास गर्न सकिरहेको छैनँ कि अब म उसलाई कति वर्षपछि भेट्छु भनेर । १० वर्ष सँगै पढेर हामी दुई जना यसरी छुटेछौँ ।

अर्को साथी पनि जाँदै छ अब । ५ वर्ष सँगै खेल्यौँ र समय बितायौँ । अब ठुलाे भएपछि काठमाडौँको कुनै चिया पसलमा भेटेर आफ्नो बालापनको कुरा गर्ने छौँ भनेर मेरो दिमागमा यो कुरा खेलिरहन्छ । यसरी नै अब कति साथी जाने छन् । कुनै दिन म पनि जाउँला विदेश आफ्नो घरपरिवार र साथीहरू छोडेर । कोही त रोलान् नि म गएको देखेर ।