Logo

Student Corner

सूचना विस्तार र आजको विश्व

Written by: Sunabi Pokhrel - 25018, Grade IX

Posted on: 07 February, 2022

अहिले र पहिलेको समाजमा थुप्रै भिन्नताहरू देख्न सकिन्छ । समयको माग अनुसार संसारमा थुप्रै कुराहरू परिवर्तन हुँदै गइरहेका छन्। पहिले पहिले सूचना परेवा काग कुकुर लगायत अन्य जनावरहरूका आवाजका आधारमा सूचना अनुमान गर्ने गरिन्थ्यो । यस्ता पशुपन्छीका आवाजमा सूचना अनुमान गर्ने चलनपछि बिस्तारै हुलाकी सेवाको सुरुवात भयो र चिठी पठाउने चलनको सुरुवात भयो ।
सूचना र सञ्चारले फड्को मार्दै जाँदा अहिले चिठी लेखेर सूचना तथा समाचार सम्प्रेषण गर्ने चलन पनि हराउँदै गयो । हाल टेलिफोन रेडियो टेलिभिजन ताररहित टेलिभिजन फ्याक्स कम्प्युटर लगायतका अन्य सञ्चारका साधनहरुको आविष्कार भइसकेका छन् । यी आविष्कारहरूको उपयोग गरी मानिसले घरमै बसी बसी विश्वका घटना परिघटना थाह पाउन थालेका छन्। संसारका जुनसुकै कुना कुनामा भएका मानिसहरूसँग सजिलै कुराकानी गर्न सक्छन् । अहिले त मानिसहरू अन्तरिक्षमा समेत पुगिसकेको अवस्था छ । भू उपग्रहबाट सूचना सङ्कलन बिस्तार गर्न सफल भएका छन् । अहिलेको इन्टरनेट प्रविधि र त्यसभित्रका विभिन्न सामाजिक सञ्जाल प्रायः जसो सबै मानिसहरूले चलाउने गर्छन् । हाल छपाइ र मुद्रणमा पनि नयाँ नयाँ प्रविधिको विकाश भएको छ । आजको बढ्दो सूचना विस्तारले विश्वलाई नै साँघुरो बनाइदिएको छ । सामाजिक सञ्जालहरूको प्रयोगले विश्वभरका जुनसुकै कुनाका मानिसलाई साथी बनाउन सकिन्छ । आफ्ना भावनाहरू आदान प्रदान गर्न आफ्ना विचार वा घटनाप्रति तत्काल प्रतिक्रिया व्यक्त गर्न र विश्वका थुप्रै प्रसिद्ध कृतिहरू सजिलै पढ्न सकिन्छ ।

प्रविधिले हामीलाई थुप्रै कुराहरू दिएको छ । प्रविधिकै कारण मानिस दिनानुदिन विकाशको गतिमा फड्को मार्दै गइरहेको छ । प्रविधिले मानिसलाई थुप्रै ज्ञान सिप पनि प्रदान गरेको छ । यति हुँदाहुँदै पनि केही नकारात्मक विचार भएका व्यक्ति तथा समूह प्रविधिको सदुपयोग भन्दा दुरुपयोग मा लाग्दा कतिपय व्यक्तिको जीवन बरबाद भएको कुरा पनि हामीले देखे सुनेका छौँ । अन्ततः प्रविधिको विकाश यस्तो अवस्थामा अभिशाप बन्ने कुरालाई भने नकार्न सकिन्न ।