Logo

Student Corner

महाशिवरात्री

Written by: Saki Shrestha - 23051, Grade XI

Posted on: 03 February, 2022

महाशिवरात्री एउटा महत्त्वपूर्ण हिन्दू धार्मिक पर्व हो जुन हरेक वर्ष भगवान् शिवलाई समर्पित गरेर मनाइन्छ । यो पर्व फागुन महिनामा पर्दछ । शिवरात्रीलाई शिव र शक्तिको अभिशरणको रातको रूपमा लिइन्छ । जीवनमा अन्धकार र अज्ञानलाई जित्ने पर्वका रूपमा यो पर्वलाई लिइन्छ । पौराणिक कथाका अनुसार यो शिवरात्रीको रात भगवान् शिवले आफ्नो सृष्टि, संरक्षण र विनाशको ब्रम्हाण्डीय नृत्य गर्दछन् र याे रातमा भगवान् शिवको प्रतिमामा पूजा गर्नाले व्यक्तिलाई मोक्ष्य प्राप्त गर्न अनुमति मिल्छ र आफ्ना पापहरू हटेर जान्छन् भन्ने जनविश्वास रहेकाे छ ।
       
यो दिन शिवका सम्पूर्ण मन्दिरहरूमा श्रद्धालुहरूको घुइँचो लाग्ने गरेको छ । काठमाडाैँकाे गाैशालामा अवस्थित श्री पशुपतिनाथको मन्दिरमा नेपाललगायत भारतबाट विभिन्न श्रद्धालुहरू यस दिनका लागि भनेर आउने गरेका छन् । नेपाल सरकारले श्रद्धालुहरूका लागि खानपिन, बस्ने व्यवस्था, यातायातलगायतको विशेष व्यवस्था समेत गर्ने गरेको छ । सयौँ हिन्दू याेगीहरूका लागि सरकारको तर्फबाट पहिला पहिला भाङको समेत व्यवस्था गर्ने गरेको थियो तर अहिले त्यो व्यवस्था हटाएको छ । श्रद्धालुहरूलाई पिउने पानीको व्यवस्था, सहज बाटो, पूजा गर्ने लाइनमा धेरै गाह्राे नहोस् भनेर थुप्रै स्वयंसेवीहरूलाई समेत परिचालन गरिन्छ । त्यसैगरी विभिन्न सङ्घ संस्थाहरू लगायत विभिन्न धार्मिक संस्थाहरूले श्वास्थ्य, पिउने पानी, खाना, प्रसाद, एम्बुलेन्स आदिको व्यवस्था गर्छन् । दिनभरि त्यहाँ आएका पण्डितहरूले शिवसँग सम्बन्धित विभिन्न भजनहरू गाउने, पूजापाठ आदि गर्ने गर्दछन् । श्रद्धालुहरू पनि लाइनमा लागेर भगवान् शिवको खुला हृदयले पूजाआजा गर्ने, फलफूल तथा गाईको दुध चढाएर भगवान् शिवको वन्दना गर्ने गर्दछन् । यो दिन सबै शिवका मन्दिरहरू फूल र मालाले सजाइएका हुन्छन् ।

हिन्दूबाहेकका विदेशीहरूलाई मन्दिरमा छिर्न मनाही हुन्छ तर खोलामा भने जान दिइन्छ । यो दिनमा शिवको पूजाआजा गर्नाले सबैको पाप नाश भई मुक्ति प्राप्त हुन्छ भन्ने विश्वाश छ । यो दिनमा देशैभरि बच्चाहरूले लामो डोरी लिएर बाटो छेक्ने र पैसा माग्ने गरेको पनि देख्न सकिन्छ । पैसा नदिए बाटो नछाड्ने गर्नाले कतिपय अवस्थामा झगडा पनि पर्ने गरेको छ । यो दिन बाटामा केटाकेटीहरूले दाउरा तथा मकैको ढोड बाल्ने गर्दछन् । दिनभरिको पूजापछि भक्तजनहरू रातभरि नसुती जाग्राम बस्छन् ।