Logo

Student Corner

प्रकृति र जीवन

Written by: Ishu Shiwakoti - 202209, Grade XII

Posted on: 02 February, 2022

प्रकृति हाम्रो जीवन हो । यो धर्ती, यो आकाश र यो विश्व हामी सबैको साझा प्रकृति हो । प्रकृति ईश्वरको सुन्दर सृष्टि हो । हामी मानव जाति पनि प्रकृतिकै एक अंश हौँ । उदाहरणका लागि पानी, हावा, पशुपन्छी, खोलानाला, डाँडाकाँडा आदि हुन् । यसकारण प्रकृति हाम्रो बाँच्ने आधार हो । प्रकृतिबिना हाम्रो जीवन सम्भव छैन । प्रकृतिले हामीलाई पिउनका लागि पानी, श्वास फेर्नका लागि हावा, पेट भर्नका लागि खाना र बस्नका लागि जमिन दिएको छ । जमिनबाट अन्य फलफूल र तरकारीहरू उत्पादन गरेर त्यसलाई विभिन्न प्रकारका परिकार बनाएर खानाका रूपमा खान्छौँ, जसले हामीलाई आनन्दको अनुभव हुन्छ र काम गर्नका लागि शक्ति मिल्छ ।

त्यति मात्र कहाँ हो र ? प्रकृतिले हामीलाई सुन्दर जङ्गलहरू, हिमालका चुचुरा, अद्भूत उपत्यका तथा पहाडहरू, मनमोहक ताल तथा नदीहरू आदि पनि दिएको छ, जसबाट हामी जीवनमा सुख, सन्तोष, आनन्द प्राप्त गर्न सक्छौँ । यसैगरी प्रकृतिले हामीलाई स्वस्थ रहनका लागि विभिन्न किसिमका वनस्पति, जडीबुटीहरू र तिनलाई उपयोग गर्ने ज्ञान र सिप पनि दिएको छ । प्रकृतिले मानवलगायत यस संसारमा बस्ने हरेक प्राणीलाई जीवन प्रदान गर्दछ । प्रत्येक प्राणीको प्रकृतिमाथि उत्तिकै अधिकार हुन्छ । मानव सबैभन्दा चेतनशील प्राणी भएकाले हामीले सबैको संरक्षण गर्नुपर्दछ । हामीले अहिलेसम्म आफूलाई आवश्यक पर्ने हरेक कुरा प्रकृतिबाट लिँदै आइरहेका छौँ तर आज हाम्री आमासमान पृथ्वी रोइरहेकी छिन्, जसको मुख्य कारण हामी मानव हौँ । हामीले जानेर वा नजानेर गरेका गल्तीहरूले गर्दा आज यो दिन देख्नुपरेको हो ।

विज्ञानका आविष्कारहरू, नयाँ नयाँ प्रविधिका अभ्यासहरू, सवारी साधनको अत्यधिक प्रयोग, वनजङ्गल फँडानी आदिले गर्दा तापमान असन्तुलित हुन गई पानीको कमी, माटो तथा चट्टानमा क्षति, मानिसहरूमा घातक रोगहरूजस्ता समस्याहरू देखिएका हुन् । त्यसैले एक मानव भएकाले हामीले हाम्रो प्रकृतिको संरक्षण गर्नुपर्छ र यो हाम्रो कर्तव्य हो ।