Written by: Grishma Upreti - 23052, Grade XI
Posted on: 02 February, 2022
मेरो जीवनको कालो बादलमा चन्द्रमा बनेर आइदिने तिमी
मेरो हारेको आशालाई पनि मनभित्रबाट जगाइदिने तिमी
दुःखमा नरुन सिकाउने अनि खुसीमा रमाउने तिमी
मेरो हाँसो नै नआउने चुटकिलामा पनि मज्जाले हाँसिदिने तिमी
त्यो सानो मनमा मलाई सधैँभरिका लागि वास बस्न दिने तिमी ।
निद्रामा आउने सपना मात्र हैन बिउँझिँदा सोच्ने कल्पनामा तिमी
मेरा हरेक प्रश्नका उत्तर दिने आधार र मैले लेख्ने हरेक शब्दका कलम तिमी
अहिले साथमा नभए पनि जीवनमा मिठास थपिदिने तिमी
सधैँ खाली खाली बित्ने पलहरूमा भएका छौँ खास तिमी ।
तिमीसँगै सुरुवात भएका मेरा दिनहरूकाे अन्त्य पनि तिमीबाटै
मेरो सरल कविताको मूल भाव तिमी
मलाई पक्षपाती नसम्झ, मेरो पक्ष नै तिमी
मेरो जीवन कथाको मुख्य पात्र तिमी
मेरो अन्धकारमा टल्किने तारा र दुःखमा साथ दिने साहरा तिमी ।
घमाइलो दिनको आकाशझैँ सफा तिम्रो मन
समुद्रमा आइरहने छालजस्तै मनमा बगिरहने यो अनौठो तरङ्ग
कहिले आकाशमा चरीजस्तै उड्न खोज्ने त कहिले आफैँमा हराइरहने म
खोइ किन आज हाम्रा ती तितामिठा यादहरूको सम्झना गर्दै छु
र फेरि पनि रमाइला, नरमाइला पल सँगै बिताउने आशामा छु ।