Logo

Student Corner

महिला सशक्तीकरण

Written by: Himani Bhattarai - 24011, Grade X

Posted on: 02 February, 2022

महिलाविरुद्धका सबै प्रकारका विभेद र हिंसाको अन्त्य गरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्द्धन गर्नुलाई पनि महिला सशक्तीकरण भनिन्छ । मुख्य रूपमा राज्यले अधिकारमा आधारित विकाश अवधारणाको अवलम्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकाशका कार्यक्रमहरू सञ्चालन गरी विभेदकारी कानुनहरू हटाई हरेक क्षेत्रमा महिलाहरूलाई सहभागिता गराई महिलाले आफूमा आएका समस्याहरू आफैँले समाधान गर्नु महिला सशक्तीकरण हो । नेपालमा महिला सशक्तीकरणको कुरा धेरै उठे पनि केवल महिला चुलाचौकामा मात्र सिमित छन् । उनीहरू आफैँ आफूमै निर्भर हुन्छु भने पनि उनीहरूलाई किन जानु पर्यो बाहिर काम गर्न चाहिएको कुरा हामी नै दिइहाल्छौ भन्ने कुरा घरका पुरुष सदस्यले भन्छन् । महिलालाई घर, चुलोचौका र छोराछोरी हुर्काउने बढाउने भनी घरमै सिमित गराइको पाइन्छ, जसले गर्दा उनीहरू आर्थिक रूपमा सबल हुन सकेका छैनन् । त्यसैले महिला  सानो सानो कामको लागि पनि अरूमा निर्भर रहनु पर्ने अवस्था नेपाली समाजमा छ ।
कतिपय विकसित देशमा महिला आफ्नो पेसाबाहेक मानव जातिको उत्थानका लागि दिनरात काम गरिरहेका हुन्छन् । त्यति मात्रै होइन पुरूषलेभन्दा बढी महिलाले नै परिवारको लागि समय खर्चेका हुन्छन् । ती महिलाहरूका कारण पुरुषले पनि प्रशंसाको माला भिरेका हुन्छन् । त्यस्ता महिला समाज र राष्ट्रमा छुट्टै पहिचान बनाउनसमेत सफल भएका छन् ।
नेपालमा पनि इतिहासमै पहिलोपटक नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश जस्ता देशका उच्च पदमा महिला पुगिसकेका छन् । महिलाले पनि अवसर पाएमा जुनसुकै र जस्ताेसुकै काम पनि गर्न सक्छन् भन्ने कुरा पुष्टि भइसकेकाे छ । यसले विश्वभर नेपाललाई फरक पहिचान पनि दियो । यति हुँदाहुँदै पनि अहिले  निर्णय प्रक्रियामा पुरुष नै देखिएकाले पुरुष नै निर्णायक तहमा भएकाे हामीले देखेकै छाैँ । 
नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिसकेको छ । यसमा स्वयं नै सचेत र जागरुक हुनु जरुरी छ । विभिन्न खाले महिला हिंसा अन्त्य गर्नका लागि पहिलो कुरा महिलालाई सचेत बनाउनु आवश्यक छ । महिला सशक्तीकरणले दिएका थुप्रै अवसरहरूका कारण महिलाहरू सामाजिक राजनीतिक आर्थिक विभिन्न स्थानमा अघि बढ्दै गएका छन् । महिला सशक्तीकरणका लागि महिला आफैँ सचेत भई अघि बढ्नुपर्छ । यसका लागि सरकार र सराेकारवाला निकाय सबैले महिलालाई साथ दिनुपर्छ । सहरमा मात्र नभएर गाउँगाउँमा महिला शिक्षा र महिला सहभागिता  हरेक क्षेत्रमा हुनुपर्छ । यस कार्यमा पुरुषकाे पनि साथ र सहयाेग उत्तिकै आवश्यक हुन्छ । महिलाहरू शिक्षित भएर आफ्नो जीवन निर्वाह गर्न सकून् भनेर उनीहरूलाई लागि शिक्षा अनिवार्य बनाउनुपर्छ । महिलाको आत्म-मूल्यको भावना बुझेर उनीहरूको आफ्नै छनौटहरू निर्धारण गर्ने क्षमता उनीहरूलाई नै दिनुपर्छ ।