Logo

Student Corner

आखिर कानुनको पालना किन गर्ने त ?

Written by: Parikshit Maharjan - 22021, Grade XII

Posted on: 01 February, 2022

यो संसारमा धेरै देशहरू छन् र यी देशमा हामी मनिसहरूको सङ्ख्या पनि धेरै नै रहेको छ, जुन हामीलाई थाहा भएकै कुरा हो । अब अचम्मको कुरा यो छ कि यति धेरै मानिसहरू भए पनि सबै जना मिलिजुली आआफ्नो हिसाबले झैझगडा सकेसम्म कम गरेर बस्दै आइरहेका छन् । यति मात्र नभई सबै मानिस देशका केही सिद्धान्तहरूको पालना गरेर नियममा बस्दै आइरहेका छन् । अब आखिर नियमको पलना नै किन गर्ने त ? आखिर हामीलाई यी सिद्धान्तहरूको पालना गर्न बाध्य कसले बनाउँछ त ?

यसकाे उत्तर हाेः कानुनले बनाउँछ । अब अर्काे प्रश्न उठ्छ, के हो यो कानुन भनेको ? विकिपिडियाका अनुसार कानुन भनेको  समाजमा अमनचयन, शान्ति, राज्यमा निष्पक्ष न्याय प्रणाली स्थापनाका लागि राज्यको प्रभुसत्ता सम्पन्न व्यक्तिसमूह वा राज्यले नै बहुसङ्ख्यक जनताको हितमा बनाउने नियम वा सिद्धान्तहरूको सभ्य सार्थक अभिव्यक्तिलाई कानुन भनिन्छ । अब यसलाई नै सोझो भाषामा भन्ने हो भने कानुन भनेको राज्यले बनाएका केही सिद्धान्तहरू अथवा केही नियमहरूको भण्डार हो, जसलाई हामी सबैले पालना गर्नु नै पर्छ ।

अर्को कुरा, के कानुनको आवश्यकता छ त ? के कानुनबिना संसार नै नचल्ने हो त ? अब संसार नै नचल्ने त थाहा भएन तर कानुनको महत्त्व भने अवश्य पनि रहेको छ । कानुन चाहिने पहिलाे कारण हाे हिंसा । कानुन हुँदा हुँदै त हिंसाको गतिले आकाश छाेइसक्यो भने अब यदि कानुन नै छैन भने झन् हिंसा कुन गतिले अगाडि बढ्छ होला त ? हिंसाले अवश्य पनि समाजमा शान्ति त ल्याउँदैन त्यसैले हिंसालाई रोक्न, यसको गतिलाई घटाउन र हिंसा गर्ने मानिसहरूलाई सजाय दिन कानुनको निकै नै ठुलो भूमिका रहेको छ ।

अर्को छ नियम । कानुन छ त नियम छ । यदि कानुन नै छैन भने के मानिसहरूले नियमको पालना गर्लान् त ? अवश्य पनि गर्दैनन्, मानिसहरू आफ्नो मनाेमानी गर्न थाल्छन् । अब हामी पनि कुनै ठाउँमा गयाैँ भने जुन ठाउँमा नियम नै छैन अथवा नियम भए पनि नियमको पालना भइरहेको छ कि छैन भन्ने हेर्नलाई कोही छैन भने अवश्य पनि हामी एउटा दुइटा गरी धेरै नियमहरूको पालना गर्दैनौँ त्यसैले नियमको पालना गराउनका लागि देशमा बस्ने मानिसहरूलाई सही प्रणालीमा चलाउन कानुनको आवश्यकता पर्दछ ।

अब देशको पनि कुरा आउँछ । यदि देशको विकास सम्बन्धी अथवा देश सम्बन्धी कुनै पनि कुरा यदि कानुनी मापदण्ड अपनाएर सही ढङ्गले गर्ने हो भने यी कामहरू पनि सजिलै र सफलताका साथ पुरा हुने छन् त्यसैले देशकाे सही गतिविधिका लागि पनि कानुनको आवश्यकता रहेको छ ।

कानुनबिनाको संसार कस्तो होला त ? याे विषयमा धेरै चर्चा नै गर्नु पर्दैन । कानुनबिनाको संसार हामीले सोच्न पनि सक्दैनौँ । यदि कानुन नै छैन भने झैझगडा बढ्ने, हिंसा बढ्ने, मानिसहरूले मनपरी गर्न थाल्ने, समाज अथवा देशमा शान्ति ल्याउन नसक्नेजस्ता धेरै नकारात्मक समस्याहरू आउने छन् त्यसैले कानुन हुनु निकै नै महत्त्वपूर्ण छ ।

अन्तिममा कुरा गरौँ नेपालमा कानुनको अवस्थाकाे ।  हामीलाई थाहा नै छ कि नेपाल अरू विकास भइरहेका देशहरूको दाँजोमा धेरै पछाडि छ । कानुनी मामलामा हेर्ने हो भने पनि नेपाल पछाडि नै छ । आखिर किन त ? किनभने हाम्रो देश नेपालमा कानुन बनाउने सरकार नै नियमको पालना गर्दैन । आखिर कहिले सुध्रिन्छ त यो सरकार ? हिंसामा पनि नेपालले आकाश चुम्न भ्याइसक्यो । धेरै मानिसहरूले न्याय पाएका छैनन् । निर्मला पन्त र छोरीमाया महर्जनका जस्ता घटनाहरू हामी देख्न सक्छौँ । आखिर उहाँहरूले र उहाँहरूकाे परिवारले न्याय पाउने कहिले त ? सायद यिनै घटनाहरू बेलायत, जापानजस्ता विकसित देशहरूमा भएको भए उनीहरूले त्यता न्याय पाइसक्थे होला । समग्रमा भन्नुपर्दा नेपालको कानुनी अवस्था निकै नै कमजाेर रहेको छ ।