Logo

Student Corner

कालिञ्चोकको सम्झना

Written by: Estella Shrestha - 24007, Grade X

Posted on: 31 January, 2022

पहिलो लकडाउन अघि म मेरो परिवारसँग कालिञ्चोक घुम्न गएकी थिएँ। कालिञ्चोक घुम्न गएको पनि २ वर्ष भइसकेछ । हामी हिमाली देशका नागरिक भने पनि हिमाली जिल्लामा बसोवास नगर्ने मानिसले हिउँ देख्ने कुरा केही असम्भव पनि हो । यदि चाहना भयो भने त्यती असम्भव पनि होइन । त्यतिबेला जाडोको मौसम थियो। हल्का हल्का पानी परेको थियो । त्यतिबेला कालिञ्चोकमा हिउँ परेको थियो । मैले आफूले जान्ने भएदेखि हिउँको प्रत्यक्ष अनुभव यो नै पहिलो थियो ।

कालिञ्चोक जाने कुरा भएपछि हामीले एउटा कार रिजर्भ गरेका थियौँ । हामी काठमाडौँबाट करिब ९:०० बजेतिर त्यता प्रस्थान गरेका थियौँ । ठ्याक्कै समय त याद छैन तर धेरै समय लागेको थियो; हामीलाई त्यहाँ पुग्न । बाटो धेरै चिप्लो भएकाले कारलाई त्यहीँ बिचमा छाेडेर हामी अर्को बस फेरेर त्यहाँ पुगेका थियौँ । हामी त्यहाँ पुग्दा अँध्यारो हुन थालिसकेको थियो । त्यहाँ गएपछि हामी एउटा होटलमा गयौँ । त्यस होटेलमा फायर क्याम्पको व्यवस्था भएकाले हामी केही समय आगो ताप्दै बस्यौँ । निकै जाडो भएको समयमा आगो ताप्न पाउँदा निकै आनन्द आएको थियो। त्यसपछि खाना खायौँ । निकै थाकेका पनि थियौँ त्यसैले  केही बेरपछि होटलमा गई सुत्यौँ । निकै चिसो भएकाले भोलिपल्ट बिहान उठ्न पनि मन लागेको थिएन । तैपनि मन्दिर दर्शन गर्न भनेर गएकाले हाम्रो उद्देश्य पूरा गर्नका लागि तयार भएर मन्दिर जान निस्कियौँ । केवलकार चढ्दा निकै रमाइलो लाग्यो । केवलकार चढेर जति माथि गयो त्यति नै सास फेर्न गारो हुँदो रहेछ । जति माथि गयो त्यति नै चिसो पनि बढी नै थियो ।

मन्दिर दर्शन गरेपछि हामीले केही फोटाहरू खिच्यौँ । निकै भोक पनि लागेको थियो । फेरि हामी केवलकार चढेर तल झर्‍यौँ । बिहानको नास्ता गरेपछि हिउँमा  खेल्ने भनेर निस्कियौँ हिउँ खेल्नलाई । हिउँमा बडो आनन्दले खेल्यौँ । निकै रमाइलो भएको थियो। हिउँमा रमाएका फोटा पनि खिच्यौंँ। हिउँमा खेल्ने र फोटा खिच्ने मानिसको निकै भिड थियो । त्यसपछि  खाना खायौँ र दिउँसोतिर सामान  प्याक गरी काठमाडौँ फर्कियौँ । बेलुका सात बजेतिर सकुशल काठमाडौँ आइपुग्‍यौँ ।