Logo

Student Corner

के किशोर किशोरीले जिम गर्न मिल्छ ?

Written by: Shreejal Khatri - 22024, Grade XII

Posted on: 27 January, 2022

‘के किशाेर किशाेरीले जिम गर्न मिल्छ ?’ हामीले यो प्रश्नमाथि समाजका मानिसहरूबिच निकै छलफल भएको पाउँछाैँ । आखिरमा मिल्ने हो कि होइन भन्नेमा अझै पनि धेरै प्रश्नहरू उठ्छन् । हामीले आफ्नै आमा र बुबाले भनेकै सुनेका छौँ होला कि याे उमेरमा जिम गर्नु भनेको शरीरका लागि हानीकारक हुन सक्छ अथवा जिम गर्दा प्रोटिन पाउडरको प्रयोग गर्नुहुन्न भन्ने पनि सुनेका हाेैँला ।  

याे प्रश्नको जवाफ दिन त्यति सजिलो छैन । याे प्रश्नमा धेरै अनुसन्धान पनि भएका छन् र सबैका आआफ्नै तर्क रहेका छन् । मैले पनि मेरो अनुभव भन्नु पर्दा किशोर किशोरीहरूले जिम गर्दा केही कुराहरू ध्यानमा राख्नुपर्ने हुन्छ । जिम गर्नै नमिल्ने भन्ने हुँदैन किनभने यसले हाम्रै स्वास्थ्यलाई राम्रो पार्दछ । अब पहिलो कुरा ध्यानमा राख्नुपर्ने भनेको आफ्नो अहङ्कारलाई हामी जिम गर्न जाँदा ढोकामै छोडेर जानुपर्दछ । यसको मतलब हामीले जब वजन उचाल्छाैँ, हामीले अरूजस्तै देखिन वा म पनि धेरै बलियो छु भनेर अरूले उचालेकाे वजनभन्दा भारी वजन उचाल्ने प्रयास गर्नुहुँदैन । यो लापरवाही किशोर किशोरीमा धेरै भेटिएको छ, जसले गर्दा चोटपटक लाग्ने सम्भावना एकदमै धेरै बढ्दछ । अर्को कुरा भनेको किशोर किशोरीहरूले डेडलिफ्टजस्ता र स्क्वाटजस्ता व्यायाम गर्नबाट टाढै बस्नुपर्दछ किनभने यो उनीहरूको बढ्ने उमेर पनि हाे र यदि मेरुदण्ड, जाेर्नी र जाेर्नीबिचको मांसपेशीमा केही पनि चोट र दबाब पर्यो भने उचाइ नबढ्ने र शरीरमा स्थायी क्षति हुने धेरै सम्भावना बढेको पाइएको छ ।

अर्को कुरा भनेको के किशोर किशोरीलाई प्रोटिन पाउडरको जरुरत पर्छ ? भन्ने प्रश्न उठ्दछ र यसको उत्तर हाे, जब हामी जिम गर्ने कार्यकाे सुरुवाती चरणमा हुन्छाैँ, त्यति बेला त्यसकाे प्रयोग गर्नुपर्ने हुँदैन । किनभने किशोर अवस्थामा तन छिटो छिटो बढ्ने हुन्छ र यदि प्राेटिन पाउडर प्रयोग गर्नुपर्यो भने पनि गर्दा हुन्छ । किन प्रयाेग गर्दा हुन्छ भने त्याे पाउडर भनेको हामीलाई जब आफ्नो तनलाई चाहिएको प्रोटिन दैनिक खानाले पुगेको हुन्न, त्यति बेला काम लाग्ने गर्छ । हामीले सुनेका हाैँला कि यदि त्यसको प्रयोग गर्याैँ भने किड्नीमा हानि गर्दछ र यो भनेको ठिक पनि हो र बेठिक पनि हो किनभने यदि हामीले आफ्नो तनलाई चाहिनेभन्दा बढी मात्रामा प्राेटिन खायाैँ भने मात्र त्याे हानिकारक हुन्छ । हामीले बच्चैदेखि पढ्दै आएकै छौँ कि कुनै पनि कुराकाे अत्यधिक प्रयाेग राम्रो हुँदैन । अब याे प्रश्न उठ्दछ कि कति मात्रामा खाने त प्राेटिन ? यसको उत्तर भनेको आफ्नो शरीरकाे वजनकाे प्रतिपाउन्ड एक ग्रामका दरले प्राेटिन खानुपर्दछ, यदि त्यसको परिणाम राम्रो भएको छ भने । अझै सजिलोसँग बुज्नका लागि एउटा उदाहरण लिएर हेराैँ, जस्तैः मेरो वजन १६० पाउन्ड छ । अब म यदि सक्रिय रूपमा जिम गरिरहेकाे छु भने मैले १६० देखि १६५ ग्राम प्रोटिन खानुपर्ने हुन्छ ।  

यी आधारभूत कुराहरूमा हामीले ध्यान पुर्यायाैँ भने जिम गर्न मजाले मिल्छ । आफ्नो स्वास्थ्यका लागि हामीले जिम गरेको राम्रो हुन्छ । धेरै पनि गर्नुपर्दैन, सिर्फ आफ्नो दिनभरको समयबाट ४० मिनेटदेखि १ घन्टा व्यायाम गर्नु राम्रो हुन्छ । यदि हामीलाई लामो र निरोगी जीवन जिउन मन छ भने व्यायाम गर्नु निक्कै फाइदाजनक हुन्छ ।