Logo

Student Corner

के गर्दै छु ?

Written by: Arunesh Manandhar - 23011, Grade XI

Posted on: 27 January, 2022

म एक हर्षविहीन मानिस,
भौतारिँदै छु,
खोज्दै छु ती यादहरू
अनुनासिक क्षणहरू
बितेका रमाइला दिनहरू
साट्दै छु दुःखसुख ।

खोतल्दै छु,
हाम्रा ती अन्तिम अवस्थामा
भोगेका पलहरू
रम्दै छु,
मिठो सपनाको आशमा
तितो विपनालाई त्यागी ।

उक्लिँदै छु,
ती कठिन कैलाशहरू
अप्ठ्यारा चट्टानहरू
नियाल्दै छु,
तिम्रा चम्किला आँखामा छर्लङ्ग परेका
हाम्रा ती दिनहरू ।

अघि बढ्दै छु,
यी अदृश्य बाटाहरूमा
भौतारिँदै, रमाउँदै
खोज्दै छु, 
आफ्नो वास्तविक अस्तित्व
हाम्रो यो स्वार्थी समाजमा
टिप्दै छु,
हाम्रा ती रमणीय क्षणहरू
ग्रन्थका ती पानाहरूमा

हौसला दिँदै छु,
साथीभाइहरू लगायत इष्टमित्रहरूलाई
कठिन परिस्थितिसँग जुध्नेहरूलाई
आफ्नो अस्तित्व सम्हाल्दै छु,
यी अदृश्य नकारात्मक शक्तिबाट
जोगाउँदै छु ती पलहरूलाई
त्यसैले हिँड्दै छु,
पाइला मेट्दै छु ।।