Logo

Student Corner

कोरोनाका लक्षणहरू र तिनबाट बच्ने उपायहरू

Written by: Sayara Aryal - 23057, Grade XI

Posted on: 26 January, 2022

सामान्य रुघाखोकीबाट गम्भीर रोग लाग्ने भाइरसलाई कोरोना भाइरस भनिन्छ । यो सङ्क्रामक भाइरस चीनको वुहानमा पत्ता लागेको थियो, जुन धेरै छोटो अवधिमा विश्वभरमा फैलिएको छ । सङ्क्रमण कहाँबाट फैलिएको हो भन्ने यकिन स्रोत खुल्न सकेको छैन तर विभिन्न समुद्री खानेकुरा खाँदा कोरोनाको उत्पत्ति भएको हो भन्ने बताइएको छ । कोरोना ब्याक्टेरियाबाट नभई भाइरसको कारणले हुन्छ र याे बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेरका मानिसलाई सर्न सक्छ त्यसैले भाइरसबाट आफूलाई बचाउन सबैले यसका लक्षण र सावधानीका उपायहरू जान्नै पर्छ ।

कोभिडका सामान्य लक्षणहरूमा ज्वरो, रुघाखोकी, स्वाद र गन्ध गुम्ने, टाउको दुख्ने, शरीर दुख्ने र पखाला लाग्नेजस्ता क्रिया हुन्छन् तर गम्भीर लक्षणका रूपमा सास फेर्न गाह्रो हुने र छाती दुख्नेजस्ता समस्या देखा पर्छन् । याे रोगबाट हुने सङ्क्रमण निकै गम्भीर हुन्छ, जसले ज्यानसमेत लिन्छ । विभिन्न अनुसन्धानअनुसार कोभिडबाट पीडित व्यक्तिहरूको भविष्यमा फोक्सो कमजोर हुन सक्छ त्यसैले हामीले हरेक काम गर्दा सधैँ सुरक्षित भएर गर्नुपर्छ । हामीले लागु गर्न सक्ने मुख्य उपाय भनेको मानिसहरूबाट सुरक्षित दुरी कायम गर्नु र सार्वजनिक स्थानहरूमा मास्क लगाउनु नै हो ।

समय समयमा साबुन र पानीले हात सफा गर्ने र सार्वजनिक स्थानहरूमा जाँदा ह्यान्ड सेनिटाइजर प्रयोग गर्ने बानी बसाल्नुपर्छ । घरमै बस्ने, अस्वस्थ भए उचित र पौष्टिक खाना खाने र आफ्नो पालो हुँदा खोप लगाउन जाने गर्नाले यसकाे गम्भीर असरबाट बच्न सकिन्छ । यदि तपाईं धेरै अस्वस्थ महसुस गर्नुहुन्छ भने चिकित्सकको सल्लाह लिनुहोस् तर सबै सावधानी अपनाएर स्वस्थ रहन र कोरोना भाइरसबाट टाढा रहन सक्दो प्रयास गर्नुहोस् ।

भाइरस एकदमै तीव्र गतिमा फैलिरहेको छ र वैज्ञानिकले नयाँ नयाँ भेरियन्ट पहिचान गरिरहेका छन् । माथिका सबै सावधानीहरू पालना गर्नु र आफैँलाई खतरनाक भाइरसबाट बचाउनु नै उत्तम उपाय हो । हामीले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने हानिकारक प्रभाव र लक्षणहरूबारे मानिसहरूमा चेतना जगाउनुपर्छ त्यसैले सरकारलाई सहयोग गर्नु हाम्रो कर्तव्य र दायित्व हो ताकि हामी सकेसम्म चाँडो भाइरसबाट मुक्त हुन सकाैँ ।