Logo

Student Corner

विद्यार्थी र हस्तलेखनकाे सम्बन्ध

Written by: Sunabi Pokhrel - 25018, Grade IX

Posted on: 26 January, 2022

आफ्ना भावनाहरूलाई अभिव्यक्त गरेर एउटा कागजको टुक्रामा प्रस्तुत गर्ने माध्यम भनेको हस्तलेखन हो । हस्तलेखन भनेको शिक्षाको एउटा सानो अंश मात्र हो तर समग्र रूपमा शिक्षा होइन । शिक्षामा महत्त्वपूर्ण कुराहरू भनेका रचनात्मकता र विचारहरू हुन्;  जसले संसारलाई परिवर्तन गर्न सक्छ । यो कुरा थाहा पाउँदा छक्क पर्नु हुनेछ कि प्रतिभाशाली व्यक्तिहरूको प्रायः हस्तलेखन खराब हुन्छ किनभने तिनीहरूको दिमागले तिनीहरूको हातभन्दा छिटो काम गरिरहेको हुन्छ । सायद त्यसैले गर्दा सर आइज्याक न्युटन, अल्बर्ट आइन्स्टाइन, जर्ज ओरवेल, रोल्ड डाल र अन्य प्रसिद्ध लेखकहरूको हस्तलेखन राम्रो थिएन । बिल गेट्सजस्ता उद्यमीको हस्तलेखन राम्रो छैन। यदि उनीहरूले आफ्नो हस्तलेखनमा मात्र ध्यान केन्द्रित गरेको भए उनीहरू आज हामी जसलाई चिन्छौँ, त्यो बन्ने थिएनन् होला । के तपाईंले कसैलाई चिन्नुभएको छ जो केवल उत्कृष्ट हस्तलेखन भएको कारणले प्रसिद्ध भएको छ ? छैन होला र यहाँ सानो प्रतियोगिताको विजेताको बारेमा चाहिँ कुरा नगरौँ । एकपटक आफैँलाई एउटा प्रश्न सोध्नुहोस् ! "कसले बढी इज्जत, नाम र कीर्ति पाउँछ; राम्रो हस्तलेखन भएको व्यक्ति वा सफल वैज्ञानिक, लेखक वा भनौँ, समाजमा ठुलो योगदान पुर्‍याएका व्यक्ति ? उत्तर आउँछ ती व्यक्तिहरू जसले आफ्नो कामबाट योगदान दिएका छन् न कि आफ्नो हस्तलेखनले । मनोवैज्ञानिक र ग्राफोलोजिस्टहरूका अनुसार राम्रो हस्तलेखन भएका व्यक्तिहरूभन्दा खराब हस्तलेखन भएका व्यक्तिहरू बढी रचनात्मक हुन्छन् । एक रचनात्मक व्यक्तिको ध्यान  सामग्रीमा बढी केन्द्रित हुन्छ र उसको दिमाग आफ्नो कामको सम्भावित परिणाममा बढी संलग्न हुन्छ । यदि एक व्यक्तिमा राम्रो हस्तलेखन बाहेक सबै राम्रा गुणहरू छन् भने; व्यक्तिलाई उनीहरूको हस्तलेखनको कारणले मात्र औँल्याउनु उचित हुँदैन । कोही भन्छन् होला कि हस्तलेखन पनि एक प्रतिभा हो तर राम्रो हस्तलेखन बाहेक हामीसँग अन्य धेरै प्रतिभाहरू हुन सक्छन्;  जसले हामीलाई जीवनमा अझ सफल बनाउन सक्छ । हस्तलेखन विद्यार्थीको ज्ञानको अभिव्यक्ति होइन । मेरो विचारमा त हस्तलेखन र ज्ञानको कुनै सम्बन्ध छैन । धेरैजसो मानिसहरू सोच्छन् कि राम्रो हस्तलेखनले राम्रो अङ्क ल्याउन सकिन्छ। यदि हस्तलेखन राम्रो छ तर लेखेको कुरा गलत छ वा प्रभावकारी छैन भने; हस्तलेखन जतिसुकै राम्रो भए पनि व्यक्तिले कहिल्यै राम्रो अङ्क  प्राप्त गर्न सक्दैन । अहिले टेक्नोलोजीको ठुलो विकास भएको देख्दा मलाई लाग्छ;  कलम र पेन्सिलको त प्रयोग नै गर्नु पर्दैन । लेख्नलाई इलेक्ट्रोनिक ग्याजेटहरू वा ल्यापटपहरूको प्रयोग गरिनेछ जहाँ हामीले सबै कुरा टाइप गर्नु पर्नेछ । भविष्यमा बालबालिकाहरूले टाइप गर्न सिक्ने छन् ।  अन्तत: हाम्रो हस्तलेखन राम्रो छैन भनेर हामीले नराम्रो मान्नु हुँदैन। यदि हामी साँच्चै राम्रो हस्तलेखन चाहन्छौँ भने हामी त्यसलाई राम्रो बनाउन हरेक दिन हस्तलेखनको एक पृष्ठ अभ्यास गर्न सक्छौँ तर मेरो धारणा के हो भने त्यही समय विज्ञान, गणित वा अन्य आफूलाई मनपर्ने कुरामा ध्यान केन्द्रित गर्ने हो भन्ने झन् फलदायी हुनेछ । के थाहा हामीले त्यसपछि केही सानदार विचारहरू भेट्टाउन पनि सक्छौँ । विद्यालयहरूले पनि आफ्नो शिक्षण पद्धतिलाई हस्तलेखन राम्रो भएको विद्यार्थीको खोजीमा नभई राम्रो प्रतिभा भएको विद्यार्थीको खोजीमा केन्द्रित हुनुपर्छ। हस्तलेखनको नाममा महान प्रतिभा र दिमागलाई नबिर्सिनुहोस् । विद्यार्थीहरूलाई उनीहरूको हस्तलेखनको आधारमा मूल्याङ्कन गर्नुहुँदैन । अन्त्यमा एउटा विद्यार्थीलाई हस्तलेखनको आधारमा मूल्याङ्कन गर्नु भनेको एउटा भर्खरै बनेको गाडीलाई नचलाइकन त्यसको मूल्याङ्कन गर्नु हो |