Logo

Student Corner

निरर्थकता

Written by: Aashrab Khanal - 22001, Grade XII

Posted on: 19 January, 2022

सधैँझैँ आफ्नो काम सकेर हरि घरतर्फ हिँड्दै छन् । रात पर्दै गर्दा उनीजस्तै तर उनीभन्दा धेरै भिन्न मानिसहरू पनि आफ्नो घर फर्किरहेका छन । बाटोमा सधैँझैँ जाम नभएकाले हरिलाई अनौठो लाग्छ । आज कामबाट छिटै बिदा पाएको र घर जान त्यति रुचि नभएकाले हरि एउटा सानो चिया पसल छिर्छन् । भित्र एउटा प्लास्टिकको कुर्सीमा बसी चुरोट सल्काउँदै हरि आकाशतर्फ टोलाउन थाल्छन् । अचानक उनलाई आफ्नो जीवनको निरर्थकता अनुभव हुन्छ ।

यस्तो अनौठो अनुभवले हरिलाई केही समयका लागि चकित पारिदिन्छ । उनले आफूलाई प्रश्न गर्छन्, “के मेरो जीवनको केही अर्थ छ ?” एउटा व्यक्तिलाई निरर्थकताको अनुभव, जीवनको अर्थ र प्रकृतिको वास्तविकताको बिचमा रहेको विरोधाभासको कारणले हुन्छ । जीवनमा दुःख र पीडाको अर्थ खोज्दा नै एउटा व्यक्तिले आफ्नो अस्तित्वमाथि प्रश्न उठाउँछ । दुःख र पीडा हाम्रो अस्तित्वका उपज हुन् । यस्ता विषयहरूले दार्शनिकहरूलाई हजारौँ वर्षदेखि सताउँदै आइरहेका छन् । आफ्नो प्रश्नको भारीपनले गर्दा हरि भुईंतिर ट्वाल्ल परेर हेरिरहन्छन् । एकछिनपछि उनलाई आफ्नो स्थितिको विरक्तता महसुस हुन्छ । हरिले आफूलाई भन्छन्, “मेरो जीवनको केही अन्तर्निहित अर्थ नै छैन । सबै अर्थ मैले अथवा अरू मानिसले दिने काम गरेका छन् । यो विशाल ब्रह्माण्डमा त म एउटा कमिला जत्रो पनि छुजस्तो लाग्दैन, न त अरू कोही मानव नै छन् ।” हरि आफ्ना आँखा चिम्लन्छन् र सानो उमेरदेखि अहिलेसम्मका सबै सम्झनाहरू उनको आँखाअगाडि झल्किन्छन् । रात परेको थाहा पाउँदै हरि कुर्सीबाट उठ्छन् र घर पुग्ने निधोमा हिँड्न थाल्छन् । घर पुगेपछि सधैँ जस्तै आफ्नी श्रीमती र दुई छोरीहरूसँग खाना खाएर हरि सुत्न तयार हुन्छन् । भुईंमा तन्ना ओछ्याई प्वाल परेको ओढ्ने मिलाउँदै हरि निदाउन खोज्छन् तर त्यो प्रश्नको भारीपन उनको निद्रालाई पनि थिच्न सफल रहन्छ ।

जीवनको निरर्थकतालाई सामना गर्नुबाहेक अरू कुनै पनि विकल्प हुँदैन । पहिलो विकल्प जीवनको अन्त्य अथवा आत्महत्या रहेको छ तर आत्महत्याले निरर्थकतापूर्ण जीवनलाई झनै निरर्थक बनाउँछ र मानव जीवनलाई अपमान गर्छ । दोस्रो विकल्प दार्शनिक आत्महत्या रहेको छ । यसको अर्थ हाम्रो जीवनलाई कुनै उच्च शक्तिले अर्थ दिन्छ भनेर विश्वास गरी जीवन बाँच्नु हो । तेस्रो विकल्प भनेको जीवनको निरर्थकतालाई अँगालो मारी आफूलाई स्वतन्त्र घोषणा गर्नु हो । जीवनको अर्थको प्रश्न सामान्य रूपमा अस्तित्वको महत्त्वसँग सम्बन्धित हुन्छ । विभिन्न सांस्कृतिक र वैचारिक पृष्ठभूमिबाट यी प्रश्नहरूको धेरै र भिन्न उत्तर दिन सकिन्छ । जीवनको अर्थको खोजीले विभिन्न कालखण्डमा धेरै दार्शनिक, वैज्ञानिक र  धर्मशास्त्रीहरूबाट उत्तरहरू उत्पादन गरेको छ । विभिन्न व्यक्तिहरू र संस्कृतिहरूले यस प्रश्नको जवाफको लागि विभिन्न आधार लिएका छन् ।