Logo

Student Corner

जाडोबिदा

Written by: Niharika Shrestha - 22022, Grade XII

Posted on: 18 January, 2022

बिदाको नाम सुन्नेबित्तिकै हामी विद्यार्थीहरूको अनुहारमा छुट्टै किसिमको खुसी देख्न पाइन्छ । बिदा आउनेबित्तिकै हाम्रो दिमागमा खेल्ने, घुम्ने र रमाइलो गर्ने मात्र सोच आउँछ । बिदा सुरु हुनेबित्तिकै पढाइबाट टाढा जान पाइन्छ भनेर सोच्छौँ तर याे हामी विद्यार्थीको मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । दिनदिनै त हामी विद्यालय गएर पढ्छौँ, कक्षाकार्य र गृहकार्य गर्छौं र सधैँ त्यही दिनचर्यामा लागिरहन्छौँ । यसले गर्दा हामी शारीरिक र मानसिक दुवै रूपमा थकित हुन्छाैँ । यसले गर्दा हामी पढाइमा राम्ररी ध्यान दिन पनि सक्दैनौँ त्यसैले बिदा भनेको चाहिन्छ । 

हाम्रो पनि कलेजले दुई हप्ताका लागि जाडो बिदा दिएको थियो । कोरोनाले गर्दा हाम्रो विद्यालय भाैतिक रूपमा खुलेको धेरै महिना भएको थिएन त्यसैले सबै साथीहरूसँग बसेर पढ्दा रमाइलो नै भइरहेको थियो तर बिदा पाउने भएकाले पनि म खुसी नै थिएँ । हाम्रो कलेजले नेपाल कला परिषद्, बबरमहलमा माघ १४ गतेदेखि चित्रकला प्रदर्शनी हुने घोषणा गरेको थियो । मैले चित्रकला प्रदर्शनीमा सहभागिता जनाएकी थिएँ र छनोट पनि भएँ । त्यसैले मेरो बिदाको १ हप्ता त मैले मेरो चित्रकला बनाएर नै बिताएँ । चित्रकला प्रदर्शनीका लागि छनोट भएका विद्यार्थीहरू बिदाको पहिलो हप्ता कलेज आउनु परेकाे थियाे त्यसैले मेरो पहिलो हप्ता त चित्र बनाएर नै सकियाे । चित्र बनाउनुबाहेक मैले अरू थुप्रै कुराहरू पनि गरेँ । केही गृहकर्यहरू पनि पाएकी थिएँ त्यसैले ती कामहरू गरेँ । हामी साथीहरूसँगै गएर बास्केटबल पनि खेल्यौँ । याे बिदामा मैले परिवारसँग समय बिताउन पाएँ । यो मात्र नभएर मैले आफूलाई मन पर्ने कुराहरू गरेर पनि याे बिदा बिताएँ । मैले केही राम्रा बानीहरू बसाल्ने प्रयास गरेँ । मैले पुरै किताब १ हप्तामा पढेर सकेँ, जुन मेरा लागि एकदम ठुलो कुरा हो किनभने मलाई पुरै किताब पढ्न एक महिनासम्म लाग्थ्यो । मैले बिहान सबेरै उठ्ने बानी बसाल्ने प्रयास पनि गरेँ । पहिले बिहानको ८ नबजेसम्म मेरा आँखा खुल्दैनथे तर याे बिदामा मैले ६:३० देखि ७ बजेसम्म उठ्ने प्रयास गरेँ । पहिला म उठ्नेबित्तिकै मोबाइल चलाइहाल्थेँ तर याे बिदामा मैले ५ मिनेट भए पनि ध्यान गर्न सिकेँ । म २, ३ ठाउँहरूमा घुम्न पनि गएँ । यसले गर्दा मेरो शारीरिक र मानसिक स्वास्थ्यलाई पनि आराम मिल्यो । म परिवारसँग नेपाली भूतको चलचित्र पनि हेर्न गएँ । भूतको चलचित्र भए पनि हाँसउठ्दो नै थियो । केही क्षणहरू भने एकदम डरलाग्दा थिए । समग्रमा भन्दा चलचित्र राम्रै थियो । मैले याे बिदामा रमाइलो मात्र नगरी पढ्ने पनि एउटा नीति बनाएँ । मैले पढाइएका विषयहरूको पुनरावृत्ति गरेँ । मैले घरको सरसफाइ गरेँ । राम्ररी ध्यान दिएर पढ्नका लागि हाम्रो कोठा पनि सफा हुनु एकदमै जरुरी छ । सफा वातावरणमा बस्दा हाम्रो दिमाग पनि रचनात्मक हुन्छ । यसकारणले गर्दा हामी धेरै कुराहरू गर्न उत्प्रेरित हुन्छौँ । फोहोर वातावरणमा पढ्न खोज्दा पढेका कुराहरू दिमागमा राम्ररी पस्दैनन् र अल्छी पनि लाग्छ । त्यसैले म सकेसम्म आफ्नो कोठा सफा राख्न खोज्छु । 

समग्रमा हेर्दा मेरो बिदा मेरो लागि एकदम सफल भयो । मैले मनोरञ्जन, पारिवारिक समय, शारीरिक व्यायाम, मानसिक स्वास्थ्य सबैको लागि लाभ हुने गरी मेरो समयको भरपुर सदुपयोग गरेँ । याे बिदा मेरा अरू बिदाभन्दा धेरै भिन्न थियो । याे बिदाअगाडि मैले के के कुरा गर्ने भनेर दिनचर्याकाे याेजना बनाएकी थिएँ । त्यसकारण अब आगामी बिदाहरूमा पनि म दिनचर्याकाे याेजना बनाएर बिदाको राम्रो सदुपयोग गर्ने छु । बिदामा मात्र नभई अबदेखि म नियमित रूपमा दिनचर्याकाे याेजना बनाउने छु । बिहान उठ्नेबित्तिकै दिनचर्याकाे याेजना बनाए आफूलाई दिनभरि ती कामहरू पुरा गर्न जाँगर पनि चल्दो रहेछ ।