Logo

Student Corner

पुस्तक समीक्षा : विश्ववेदना कविता सङ्ग्रह

Written by: Niharika Chapagain - 25006, Grade IX

Posted on: 17 January, 2022

‘स्वार्थलिप्सा’ कवितामा नेपाल आमाको महाकालीको सिमाना मिचिंदा, नेपालीहरूलाई परेको पीडाभाव व्यक्त गरिएको छ । कलियुगमा मानिसहरूमा धन, सम्पत्ति इत्यादि  कुराको स्वार्थ हुन्छ र त्यसको कारण आफ्नै दाजुभाइ र आफन्तजनहरू बिच छलकपट हुनु एक साधारण कुरा भैसकेको छ। विगतमा राणाशाशन कालमा सत्ताका लागि आफ्नै दाजु भाइको हत्या गर्ने चलन थियो र वर्तमानमा पनि राजनीतिमा छलकपट साधारण रूपमा लिइन्छ; जसले नेपाललाई भित्रदेखि खोक्रो बनाइरहेको छ । हाम्रा पुर्खाहरू विकसित सुनौलो नेपालको सपनाको भारी बोकेर देशभक्तिको नारा लगाउँने गर्थे, ती सपनाहरूलाई अर्काको पसिना लुटेर धर्मी बन्न खोज्ने मानिसहरूले भुलेको भाव कविले यस कवितामा उतारेका छन् ।
यसरी नै शिखरिणी छन्दमा रचित ‘मूर्ख  चरित्र’ नामक कविताले एक मूर्ख  पात्रको वर्णन गरेको छ जो आफूलाई सर्वाश्रेष्ठ ठान्दछ । पुर्खाका वचनको अनादर गर्दछ र कुनै प्राणीको पनि सेवा गर्न जान्दैन। कविका अनुसार, यस्ता मानिसहरू अरूका विचार, उपदेश सुन्दैनन्, र असल मनले केही पनि काम गर्दैनन् । आफू  नै जान्ने छु भनी, आफूलाई नै पुज्ने मानिस मूर्ख  हुन्छ र यस्ता मानिसहरू  अरूको अर्तीलाई स्विकार्दैनन् । घमण्डी स्वभाव भएका र अरूको विचार नसुन्ने मूर्ख  मानिसहरूले ज्ञान प्राप्त गर्न सक्दैनन् र  जीवन व्यर्थै बिताउँछन् । त्यसैले कविका अनुसार संसारभरको शिक्षा, ज्ञान र धीर मनले मानिसलाई शिखरको चुचुरोमा पुर्याउँछ र उसको जीवन व्यर्थ खेर जाँदैन ।

‘हाम्रो देश अपार’ मन्दाक्रान्ता छन्दमा रचिएको कवितामा कविले नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र नेपालीहरूको एकताको बारेमा वर्णन गरेका छन् ।  नेपालमा भिन्न भूगोल रहेको र पुर्खाहरूको मेहेनतले नेपाललाई स्वर्ग झैँ बनाएको छ । यहाँका नदीमा सफा पानी कलकल गर्दै बग्छन् र हरिया वनजङ्गलमा चराचुरुङगीहरूले चिरबिर गर्दै आनन्द छर्छन् । यहाँ जातीय र सांस्कृतिक विविधता छ। मानिसहरूमा एकता रहेको छ र यस्ता कुराहरूले हाम्रो देशलाई अपार बनाएको कुरा कविले कवितामा गौरवका साथ लेखेका छन् ।
यसैगरी ‘लाजनीति’ कवितामा कविले राजनीतिलाई लाजनीति मानेर, ती भ्रष्टाचारी नेताहरू विरुद्ध आवाज उठाउन खोजेका छन् । जो राष्ट्र र जनतामाथि आफ्ना स्वार्थका लागि अत्याचार गरिरहेका हुन्छन् । सत्ता र शक्तिको लोभमा, गरिबजनहरूलाई ती नेताहरूले लुटेका छन् र देशलाई राजनीतिको नाममा भ्रस्टाचारको रोगी बनाउँदै छन् । लोकतन्त्रको दुरूपयोग गरेर दु:खी, गरिबलाई सताएर नेताहरू आफू धनी भैरहेका छन् र उनीहरूको नियत स्वार्थले भरिएको छ । त्यसैले कविका अनुसार हामी चेतनशील नागरिक देशको  इज्जत राख्न र देशको प्राण धान्न जाग्नुपर्ने कुरा कवितामा व्यक्त भएको छ ।   
‘राजधानी’ कविता शार्दूलविक्रीडित छन्दमा रचिएको छ । यस कविता कविले नेपालको राजधानी काठमाडौँबारे लेखेका छन् । राजधानी भएपछि सबै सुविधाहरू  प्राप्त गर्न सकिने, विश्वभरका सामानहरू  पाइने, जातीय विविधता पाइने आदि त हुने नै भयो तर राजधानी भए पनि काठमाडौँमा मानिसले दु:ख, पीडा  नभोग्ने हुँदैन । यहाँ मानिसहरू सुख, सुविधाका लागि आउँछन् तर लाखौँ मानिसका बिचमा पनि यहाँ एक्लो महसुस गरिन्छ । यहाँ पैसा नभए जीवित रहन सकिँदैन । यहाँ बस्ने मानिसहरूले धेरै दु:ख गर्छन् र उनीहरूसँग दु: खका कथाहरू  पनि धेरै हुन्छन् । पीडा  मै भए पनि मानिसहरू  यहाँ हाँसेर बस्न खोज्छन् भन्ने भाव प्रस्तुत  कवितामा व्यक्त भएको छ ।         
विश्ववेदना कविता सङ्ग्रह कविको वेदना हो ।  यसमा कविले नेपाल आमाको वेदना प्रस्तुत गरेका छन्। देशमा भइरहेको गतिविधि, कमजोर शासनप्रणाली, बेथिति, बढ्दै गएको भ्रष्टचारको वेदना कवितामा पोखिएको छ। यसका साथै नेपालको प्राकृतिक सुन्दरता र स्रोतले भरिपूर्ण यस देशमा कविले अथाह सम्भावना पनि देखेका छन्। लोकतन्त्रमा खोक्रो आडम्बर भएको, सच्चा देशभक्त नेतृत्काे कमी भएकाे कुरा यहाँ कविताका माध्यमद्वारा मार्मिक ढङ्गले प्रस्तुत गरिएकाे छ । यस सङ्ग्रहमा प्राय जसो कविताहरूमा कविले देशको दुर्दशादेखि लिएर देशको गौरवका कुराहरूलाई पनि समेटेका छन् । मलाई यो कविता सङ्ग्रह निकै रमाइलो लाग्यो किनभने यहाँबाट मैले नर्कुटक,पञ्चचामर, तोटक जस्ता नयाँ छन्दहरू कसरी वाचन गर्न सकिन्छ भन्ने कुरा  सिकेँ। यो पुस्तक पढेर मैले देशको भविष्यलाई उज्वल बनाउन, देशका जनता र देशका शासकहरूको के महत्त्व हुँदो रहेछ भन्ने कुरा पनि जाकारी पाएँ ।