Logo

Student Corner

मैले चिनेको म !

Written by: Yojana Gautam - 23068, Grade XI

Posted on: 14 January, 2022

सधैँ खुसी हुन सकिँदैन र सबै आफूले भनेजस्तो हुँदैन । खुसी हुन मेरो विचारमा पहिला आफूलाई चिन्नु जरुरी छ । म पनि आफूलाई हरेक दिन चिन्ने कोसिस गर्दै छु । म धेरै डराउँथेँ, मलाई कसैले चिनेको छैन भनेर तर अहिले अलिकति आफूलाई हेर्न र चिन्न थालेपछि मैले लडाइँ लड्नु छ भन्ने कुरा थाहा पाएँ र म लड्ने छु भन्ने आत्मविश्वास जगाएँ । मैले चिनेको मलाई धेरै अगाडि बढ्न मन छ त्यसैले उसले आफूभन्दा माथि आफ्नो सपनालाई राखेकी छे । उसले आफ्ना बाबाले उसका लागि गर्नुभएको दुःख देखेकी छे र  उसले बाबाको सपना पनि आफ्नो बनाइसकेकी छे । यति मात्र हैन, उसलाई आमाबाट टाढा रहनुको पीडा पनि थाहा छ ।

मैले हरेक दिन आफूलाई चिन्ने कोसिसमा धेरै मान्छेलाई़ भेटेकी छु, धेरैको सङ्गत गरेकी छु । मैले ती हरेक मान्छेबाट धेरै कुरा सिकेकी छु । मलाई यस्ताे सङ्गतबाट के थाहा भयो भने मानिस खराब हुँदैन, उसलाई समय र परिस्थितिले खराब बनाएको हुन्छ । मैले आफूलाई चिन्दै गर्दा के पनि थाहा पाएँ भने यहाँ सबैले सोच्ने तरिका र सबैको सोच फरक हुँदा रहेछन् । मैले जे सोचेँ, त्यो अरूले सोच्नुपर्छ भन्ने छैन । अनि मैले अर्को के कुरा थाहा पाएँ भने सबैले मेरा बारेमा राम्रो नै सोच्नुपर्छ भन्ने छैन । म जे छु, त्यसैमा राम्रो छु र मलाई अरूको नराम्रो कुराले नराम्रो प्रभाव पर्नु हुँदैन ।

नेलसन मन्डेलाले भनेजस्तै जीवित रहनुकाे सबभन्दा ठुलो महिमा भनेको कहिल्यै पनि नलड्नु र लडेपछि हरेक चोटि उठ्नुमा छ । मलाई जीवनमा जति चोटि असफल भए पनि सधैँ कोसिस गर्नु छ र हरेस खानु छैन । मलाई सधैँ मिहेनत गरेर पढ्नु र अगाडि बढ्नु छ । मैले अर्को कुरा पनि आफूलाई चिन्ने क्रममा के थाहा पाएँ भने यदि सफल बन्नु छ भने आफूले मिहिनेत गर्नुपर्छ । भनिन्छ नि मिहिनेतको फल मिठो हुन्छ । त्यसैले मलाई धेरै मिहिनेत गरेर आफ्नो सपना पुरा गर्नु छ । मैले सिकेको अर्को कुरा भनेको आफू यो संसारमा जन्मिँदा कोही पनि जान्ने भएर आएको हुँदैन । सबैले आफू मिहिनेत गर्दै जाँदा र कोसिस गर्दै जाँदा सिकिने रहेछ ।

मलाई अर्को कुरा के थाहा छ भने यो संसारमा कोही पनि सधैँ बाँच्दैन र हामी सबै यो संसारका केही दिनका पाहुना हौँ । त्यसैले मसँग केही छैन भनेर दुःख पनि लाग्दैन र सबैथाेक छ भनेर खुसी पनि लाग्दैन किनभने जोसँग जे भए पनि मरेर लानु केही छैन । मैले सबै कुरा चिन्दै गर्दा के थाहा पाएँ भने जिन्दगीमा भोलि भन्ने दिन कहिल्यै आउँदैन । त्यसैले जे छ, आज नै छ र हामीले आज नै रमाउन सिक्नुपर्छ ।