Logo

Student Corner

आधुनिक युग र कम्प्युटर

Written by: Jubin Maharjan - 22026, Grade XII

Posted on: 10 January, 2022

आजको युग आधुनिक युग हो । विज्ञानले मानवजातिका लागि एकपछि अर्को विस्मयकारी अमूल्य उपहार पस्किएको छ, जसले आजको मानव समुदायको जीवन सहज पारेको छ । मानवजातिले गरेका विज्ञानका विभिन्न चामत्कारिक आविष्कारमध्ये कम्प्युटर पनि एक हो । कम्प्युटरको आविष्कारले मानवसमुदायको जीवनचर्यामा आमूल परिवर्तन ल्याएको छ । आज रेल, जहाज, बस, कारजस्ता यातायातका साधनहरूको नियन्त्रण गर्ने र दूरसञ्चार, शिक्षा, स्वास्थ्य, व्यापार, अनुसन्धानदेखि लिएर गणितका जटिलतम समस्याहरूको तीव्रतासाथ समाधान गर्ने काम कम्प्युटरले गरेको छ । अतः बीसौं शताब्दीले मानवसभ्यताका लागि दिएको एक अदभूत उपहार कम्प्युटर हो ।
कम्प्युटर एक इलेक्ट्रोनिक मेसिन हो । कुनै पनि गल्ती नगरी एकैचोटि एकै समयमा विभिन्न क्रियाहरू गर्न सक्ने अनौठो क्षमता कम्प्युटरमा छ । गणितका जस्तासुकै सङ्ख्याको जोड, घटाउ, गुणन र भाग तत्कालै गर्नाका साथै जटिल समीकरणहरूलाई पलभरमा हल गर्न पनि कम्प्युटर सफल रहन्छ । कम्प्युटरभित्र मानवमस्तिष्कसँग तुलना गर्न सकिने स्मृति रहन्छ र त्यसले धेरै धेरै तथ्यहरूलाई अत्यधिक लामो समयसम्म सुरक्षित राख्न सक्छ । मुख्य रूपमा कम्प्युटरभित्र (१) इनपुट युनिट (२) सेन्ट्रल प्रोसेसिङ युनिट र आउटपुट युनिट रहन्छन् । मानिसका आँखा र कानले जे काम गर्छन्, कम्प्युटरको इनपुट युनिटले त्यही काम गर्दछ; मानवमस्तिष्कले जे काम गर्दछ, त्यस्तै काम कम्प्युटरको सेन्ट्रलप्रोसेसिड् युनिटले गर्दछ र कम्प्युटरको आउटपुट युनिटले चाहिँ मानिसका हात र मुखको काम गर्दछ । 
कम्प्युटर विभिन्न प्रकारका हुन्छन् र ती प्रत्येक प्रकारका भिन्न भिन्न विशेषताहरू पनि हुन्छन् । कम्प्युटरलाई मुख्य रूपमा तीन प्रकारमा विभाजन गर्न सकिन्छ: (१) डिजिटल कम्प्युटर, (२) एनालोग कम्प्युटर र (३) हाइब्रिड कम्प्युटर । डिजिटल कम्प्युटरलाई पनि स्मृतिका आधारमा: (१) माइक्रो कम्प्युटर, (२) मिनी कम्प्युटर, (३) मेनफ्रेम कम्प्युटर र (४) सुपर कम्प्युटर गरी चार वर्गमा विभाजन गर्न सकिन्छ । माइक्रो कम्प्युटरले अधिकतम रूपमा लाखौं शब्दलाई भण्डार गर्न सक्दछ र यी अत्यधिक महँगा हुन्छन् । मिनी कम्प्युटरचाहिँ माइक्रो कम्प्युटरभन्दा पाँच गुना बढ्ता तीव्र हुन्छन् । मिनी कम्प्युटर सबै उच्चस्तरीय भाषाहरू सम्झन सक्छन् । सुपर कम्प्युटर आजसम्म निर्मित कम्प्युटरमध्ये सर्वाधिक शक्तिशाली कम्प्युटर हाे ।