Logo

Student Corner

के नेपालको विकास होला त ?

Written by: Parikshit Maharjan - 22029, Grade XII

Posted on: 24 December, 2021

हालकाे समयमा हेर्नुपर्दा नेपाल अरू देशकाे तुलनामा धेरै पछाडि रहेको छ तर भविष्यमा गएर नेपालको गति के होला त ? यो राम्रो प्रश्न हो । विशेष गरी आजकलका युवा पिढीलाई यो एउटा चिन्ताको विषय हो किनेभने उनीहरूको भविष्य के नेपालमै सीमित होला त ? कोही सोच्छन्, ‘नेपालमा भविष्य नै छैन’, त कोही भन्छन्, “म नै नेपालको भविष्य हुँ ।” वर्तमानको नेपालको हाल हेर्ने हो भने पहिलो सोच राख्ने व्यक्तिहरू पनि गलत होइनन् । विगत १० वर्षलाई हेर्ने हो भने नेपालले प्रगति अवश्य गरेको छ तर धेरै व्यर्थका कारण नेपाल अझै पनि विकासको गतिलाई समात्न सकिरहेको छैन तर भविष्य भविष्य हो । पछि गएर के हुन्छ, हुँदैन कसैलाई थाहा छैन । त्यसैले दोस्रो सोच राख्ने व्यक्तिहरूको सोच राम्रो छ तर जोखिमपूर्ण छ । परिवर्तन ल्याउने सोच राम्रो हो तर नेपालजस्तो देशमा टन्नै घुसखाेर व्यक्तिहरू बसेका छन्, जो पैसाका लागि जे पनि गर्न तयार हुन्छन् त्यसैले सही ढङ्गमा हिँडेर नडराई सबैलाई साथ लिएर अघि बढ्ने हो भने हो, आजका युवा नै भोलिकाे नेपालका भविष्य हुन् ।

नातावादका कारण पनि नेपालको भविष्य जोखिममा देखिन्छ, जसको शक्ति उसैको भक्तिजस्ताे चलन नेपालमा अझै पनि गएको छैन । यो लाजमर्दाे कुरा हो । विश्वका अरू देश आफ्नो झन्डा चन्द्रमामा फहराउन थालिसके तर नेपालले भने अहिले पनि गरिबीमा आफ्नो जीवन काटिरहेको अवस्था छ । दोष आखिर दिने कसलाई ? के देश चलाउने नेतालाई ? कि त देशमा बस्ने जनतालाई ? म भन्छु, यो एक आर्कालाई दोष दिने बानीले गर्दा नै नेपाल अघि बढ्न नसकेको हो । यदि देश चलाउने नेता र देशमा बस्ने जनता दुवै मिलेर अघि बढ्ने हो भने नेपालले विकासको गति समात्ने छ र अरू देशलाई चुनौती दिने छ तर आखिर यो भाव आउने कहिले त ? विकास त पहिलाभन्दा ठिकै भएको छ नेपालमा । हवाइजहाजहरू ठुलाे सङ्ख्यामा उड्न थालेका छन् । ठुला ठुला घरहरू बनिरहेका छन् र यस्ता थुप्रै कार्यहरू भइरहेका छन् तर पनि देश पछाडि नै परिरहेको छ, किन ? किनकि जेजति पनि विकास भएको छ, त्याे विकास कसैले पनि देशका लागि गरेनन्, सिर्फ आफ्नाे स्वार्थपूर्तिका लागि गरे । 
नेपाल एक सुन्दर ठाउँ हो । पुर्खाहरूको नासाे हो हाम्रो यो देश नेपाल । महापापी त उनीहरू हुन्, जसले हाम्रा पुर्खाहरूको सम्पत्तिलाई बेचेर सम्पत्ति थुपारे । यस्तै सबै आवस्थाहरूका कारण नेपाल अघि बढ्न नसकेकाे हाे । के कमी छ र नेपालमा जसले गर्दा विकास हुन सकेन ? प्रकृतिको साथ छ नेपालमा, जनताको साथ छ, विभिन्न देशको साथ छ तर पनि नेपाल निकै नै पछाडि छ । कहिले को प्रधानमन्त्री त कहिले को । जो जो कुर्सीमा बस्छन्, सिर्फ आफ्नो स्वार्थ हेर्छन् । भएभरका जनताकाे पैसा लुटेर आफ्नो र आफ्ना नातेदारको पेट भर्छन् ।

गलत कुराको एक दिन अन्त्य हुन्छ नै । चाहे ढिलै होस् तर नेपालको विकास अवश्य हुन्छ । कहिले त भन्न सकिँदैन तर जबसम्म नेपाली जनताको साथ छ, तबसम्म आस छ, तबसम्म नेपाल कहिले पनि अरूको अगाडि झुक्दैन र एक दिन नेपालको झन्डा गर्वले लहराउने छ ।