Logo

Student Corner

अन्तिम चाहना

Written by: Samyam Shrestha - 22012, Grade XII

Posted on: 22 December, 2021

जता हेरे पनि कालो धुवाँले यो आकाश भरिएको छ । जता गए पनि दिमागमा अनेक आवाजहरू सुनिन्छन् । यी आवाजहरूलाई केही गर्न सकिँदैन ।

“कता जाऊँ ? कता लुकूँ ?”

जीवनमा अघि बढ्न गाह्रो छ, यदि मस्तिष्कमा मृत्यु मात्र छ भने । कसले बुझ्छ होला ? कसले मेरो कुरा सुन्छ ? सबले मलाई पागल भन्छन् तर के थाहा तिनीहरूलाई एक सिपाही जीवन ! भत्किएका घरहरू, घाइते भएका परिवारहरू, ढुङ्गामुनि दबेर मरेका मानिसहरूका दृश्य हेर्दा मन दुःखी हुन्छ । आँखा आँसुले भरिएका हुन्छन् तर केही गर्न सक्दिनँ । मनमा एउटा कुरा उठ्छ, "किन यी निर्दोष मानिसहरूलाई बचाउन सकिनँ ?"
 
आँखामा आँसु भरिए पनि देखाउन सक्दिनँ । मन दु:खी हुँदा पनि पोख्न सक्दिनँ । जब म लाशको थुप्रो देख्छु, रातमा दुःस्वप्न आउँछ र दिनभरि विचारमा हराउँछु । आफ्ना साथीहरू मरेकाे देख्दा आफू पनि यही संसार छोडेर जान मन लाग्छ । शिरमा बन्दुक राख्छु तर चलाउन सक्दिनँ । पछुतो हुन्छ तर कसैअघि पोख्न सक्दिनँ । एक्लै छु, कसरी बिताउने हो यो जीवन ?

“कोही छैन मलाई आफ्नो न्यानोपन दिनलाई ? आफ्नो माया मसँग बाँड्नलाई ?”

मान्छेहरूले सुख, शान्ति र सद्भाव खोज्छन् तर यी सुख र शान्ति बचाउने मानिसकाे कसैलाई याद हुँदैन । हामी एक वीर बन्छौँ तर केही समयका लागि कसैले तिम्रो बारेमा सोध्दैन । कसैले तिमीलाई हेर्दैन । कोही पनि तिम्रा लागि रुँदैन । बाँचेर फर्किँदा मरेको जस्तो हुन्छ, सबैको यादमा मन बेचैन हुन्छ । मर्दा पनि राम्रोसँग अन्तिम संस्कार गर्न सकिँदैन ।  कसैको शरीर घर फर्किन्छ तर कसैको एक अङ्गमात्र घर फर्किन्छ । कसैको मृत्यु पूर्व नियोजित हुँदैन । कसैलाई पनि थाहा हुँदैन तिनीहरूको मृत्यु कहिले हुन्छ भन्ने । दोष कसैको हैन तर हामी यो सब भगवान्‌माथि राखिदिन्छौँ ।

“हामी लडेका छौँ, केका लागि ? दिनरात मार्दै छौँ, केका लागि ?”

मधुरो हुँदै गएको छ मेरो दृष्टि । यता सुन्दा गोलीको आवाज आउँछ, अर्को ठाउँ हेर्दा आफ्ना साथीहरू ढलेकाे देख्छु । दिमागमा मरेका मानिसहरू एकअर्कामाथि थुप्रिएको कल्पना आउँछ । बिस्तारै मेरो अन्तिम समय आउँदै छ, दु:खी छु किनभने पछुतो छ मैले याे सुन्दर जीवनमा केही गर्न सकिनँ । मलाई आशा छ, यो संसार परिवर्तन हुने छ । यहाँ भएका सबै सिपाहीहरूकाे बलिदान खेर नजाओस् । यही एक आशा रहेको छ, सबै सिपाहीको मनभित्र ।