Logo

Student Corner

कति शक्तिशाली छ ओमिक्रोन ?

Written by: Arya Tharu - 22006, Grade XII

Posted on: 15 December, 2021

हामी सबैलाई कोरोनाको बारे थाहा नै छ । कोरोना एक प्रकारको भाइरस हो र याे समयअनुसार परिवर्तन भइराख्ने छ । यसै कारण हामीले यसका नयाँ रूपहरूका बारेमा सुन्दै आइराखेका छौँ । अल्फा, डेल्टा र गामा भेरियन्टपछि हालै हामीले कोरोनाको नयाँ रूप ओमिक्रोनको जन्म भएको देख्न वा सुन्न सक्छौँ । काेराेनाकाे याे रूपले दुनियाँका हरेक जनता तथा सरकारको मनमा त्रास जगाइदिएको छ । याे भेरियन्टले पनि पहिलेका भेरियन्टहरूले जस्तो लाखौँ मानिसहरू मार्छ कि भनेर दुनियाँका कतिपय देशमा  लकडाउनको घोषणा समेत गरिसकिएकाे छ ।

ओमिक्रोन बी. १.१.५२९ भनेर पनि चिनिने गर्छ । याे भेरियन्ट पहिलो पल्ट अफ्रिकाको बोत्स्वाना देशमा भेटिएको थियो र दक्षिण अफ्रिकाले याे भेरियन्टका बारेमा विश्व स्वास्थ्य सङ्गठनलाई रिपोर्ट गरेको थियो । अहिलेको समयमा यो हरेक महादेशमा भेटिइसकेको छ, अन्टार्टिकाबाहेक । नेपालको कुरा गर्नुपर्दा अहिलेसम्म २ जनामा सङ्क्रमण देखिइसकेको छ भने दक्षिण अफ्रिकामा याे भेरियन्ट एकदमै छिटो सरिरहेको छ र यसकारण हामीले थाहा पाउन सक्छौँ, यो भेरियन्ट अरू भेरियन्टहरूभन्दा बढी सङ्क्रामक छ ।

अब यो एक हिसाबमा नराम्रो हो कि धेरै मानिसहरू याे भेरियन्टको सिकार भइरहेका छन् । धेरै मानिसहरू अस्पतालमा भर्ना हुनुपरिरहेको छ, मानिसहरूको ज्यान गइरहेको छ र कतिपयको ज्यान जोखिममा छ तर अर्को हिसाबमा कति वैज्ञानिकहरू भन्छन् कि धेरै सरुवा रोगहरू कम घातक हुन्छन् । उदाहरणका लागि क्यान्सरलाई लिन सकिन्छ । क्यान्सर एक घातक राेग हो र याे रोग सजिलैसँग सर्दैन तर साधारण रुघाखोकी कम घातक हुन्छन् तर एकदमै धेरै सर्ने खालका हुन्छन् ।

नयाँ भेरियन्टको त्रासले विश्वका कतिपय देशले दक्षिण अफ्रिका र धेरै अफ्रिकी देशबाट आउने यात्रीहरूलाई प्रतिबन्धित गरिसक्यो तर के लकडाउन नै कोभिडको समाधान हो ? यसका निम्ति हामीले अरू केही गर्न सक्देनौँ ? मेरो विचारमा यसको समाधान लकडाउनमात्र चाहिँ होइन । दक्षिण अफ्रिकाले नयाँ भेरियन्टको खबर गरेर हामी सबै मानिसलाई एकदमै धेरै मद्दत गरेको छ तर विश्वका ठुला ठुला देश भने के गरिरहेका छन् ? त्यहाँबाट आउने सबै यात्रीहरूलाई प्रतिबन्ध गरिएको छ । यस्तो गर्नाले देशको आर्थिक स्थिति कमजोर हुन्छ र यो एकदमै अन्यायपूर्ण हुन्छ । यस्तो प्रतिबन्धले हामी साधारण मानिसको जीवनमा एकदमै ठुलो भूमिका खेलेको हुन्छ । हामी स्वतन्त्र रूपमा कहीँ जान सक्दैनौँ र हाम्रो मानसिक स्वास्थ्यमा असर पर्दछ । यसका साथसाथै देशको आर्थिक स्थितिमा पनि धेरै असर पर्छ ।

अत: यो भेरियन्ट कतिको शक्तिशाली छ, यो समयले नै बताउने छ किनभने वैज्ञानिकहरूले याे भेरियन्ट कति शक्तिशाली छ भन्ने पत्ता लगाउन सकेका छैनन् ।