Logo

Student Corner

सगरमाथाकी स्लिपिङ ब्युटी

Written by: Aarpan Acharya - 23010, Grade XI

Posted on: 15 December, 2021

जब एक आम मानिसको आँखा कुनै पनि हिमशृङ्खलामा पर्छ, उसको मन प्रफुल्ल हुन्छ । त्यो चुचुरोबाट संसार कस्तो देखिइरहेको होला भनेर थुप्रै प्रश्नहरू मनमा उठ्न थाल्छन् । हिमालमा अचम्मै अचम्म र रहरहरूबाट बनेका कथा मात्र नभएर भयानक र डरलाग्दा कथाहरूको मिश्रण पनि भेटिन्छ । हो, त्यस्तै दु:खलाग्दा घटनाहरूकै बारेमा म याे लेखमा चर्चा गर्ने छु ।

संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथामा ३ देखि ४% प्रतिशतको दरले पर्वतारोहण अभियानमा जाने मानिसहरूको मृत्‍यु हुन्छ । एक तथ्याङ्ककअनुसार सगरमाथा आरोहणमा जाने हरेक १०० व्यक्तिमा ४ जनाको मृत्‍यु हुन्छ । त्यस्तै मृत मानिसहरूमध्ये २०० जनाको शव अहिले पनि सगरमाथामै रहेको अनुमान गरिएको छ । निम दाजुको "१४ शिखर" वृत्तचित्र, अन्य पर्वतारोहीहरूका कथाहरू र त्यो शिखरबाट देखिने दृश्यहरूका कुराहरू एकदमै मनमोहक छन् तर त्यही हिमालमै अत्यन्त दुःखपूर्ण स्थितिहरू पनि आएका छन् ।

यस्तै थुप्रै घटनाहरूमा पनि मलाई सबैभन्दा पीडादायी लाग्ने कथा हो, फ्रान्सिस आरसेन्तिएवको । फ्रान्सिस आरसेन्तिएव र उनका श्रीमान् सेर्जेइ आरसेन्तिएव सन् १९९८ मा सगरमाथा आरोहण गर्ने सपना बोकेर पाइला चाल्न थाले । फ्रान्सिस आरसेन्तिएव अमेरिकी महिला पर्वतारोही थिइन् । उनले सन् १९९८ काे मे महिनामा बोतलबन्द अक्सिजनबिना सगरमाथा चढ्ने पहिलो उत्तर अमेरिकी महिला बनेर ईतिहास रचेकी थिइन् तर उनको यो ऐतिहासिक सफलताको खुसी धेरै समय रहेन । आरोहणपश्चात् अवरोहणका क्रममा हिमालले उनलाई आफूबाट टाढा जान दिएन । उनको याे अवरोहण अलि भिन्न थियो किनकि फ्रान्सिस सगरमाथा बिनाबोटलवाला अक्सिजन प्रयोग गरी चढ्दै थिइन् । सुरुवाती समयदेखि नै उनलाई मौसमले दु:ख दिइरहेको थियो । जसोतसो समय लगाएर भए पनि फ्रान्सिस र उनका श्रीमान् सगरमाथाको शिखरमा पुगे तर तिनीहरू तल झर्दै गर्दा समस्याहरू देखापर्न थाले । झर्ने क्रममा फ्रान्सिस र उनका श्रीमान् अलग भए । सेर्जेइ बेसक्याम्पमा पुगेर २, ३ घण्टा बिताइसक्दा पनि फ्रान्सिसको कुनै अत्तोपत्तो थिएन । यो देखेर सेर्जेइ आफ्नी श्रीमतीलाई उद्धार गर्नतर्फ लागे । आफ्नै यात्राबाट थकित भइसक्दा पनि आफ्नी श्रीमतीप्रतिको त्यो माया र स्नेह देखेर मेरो पनि आँखा रसायो । सेर्जेइ पुग्नुअघि नै एक उज्वेकी टोलीले शिखरमा पुग्ने क्रममा फ्रन्सिसलाई फेला पार्यो । तिनीहरूले उनको शरीरमा अक्सिजनको कमी स्पष्ट रूपमा देख्न सक्थे । टोलीले उनलाई मद्दत गर्ने प्रयास नगरेको होइन तर आफैँ नै कतै अक्सिजनको अभावले मरिने हो कि भनेर उनीहरू आफ्नो बाटो लागे । उज्वेकी टोली आफ्नो बाटो लागेपछि अर्की एक महिला पर्वतारोही, दक्षिण अफ्रिकी क्याथी ओडाउडले फ्रान्सिसलाई देखेर उनको मद्दत गर्न खोजिन् । उनको प्रयास पनि विफल भयो । उनी पनि आफ्नो बाटो लाग्दै गर्दा फ्रन्सिसले अचेतनताकै अवस्थामा  'मलाई यहाँ मर्न नछोड्नुहोस्, मलाई यहाँ मर्न नछोड्नुहोस् ।' भनेको सुनिरहिन् । फ्रान्सिसले त दु:ख पाइन् तर पछिल्लो पर्वातोरोहीले फ्रन्सिसलाई बाध्यतावस छोड्नुपर्दा  उनले सुनेका ती अन्तिम गुहारहरू उनका कानमा जिन्दगीभरि गुन्जिरहेका र तिनले दिनहुँ उनलाई सताइरहेका म कल्पना गर्न सक्छु । तिमी जिन्दगी भन, म दर्दनाक अनुभवहरू भन्छु । पछि थाहा भयो कि सेर्जेइले आफ्नी पत्नीलाई भेटेका रहेछन् तर कसरी हो सेर्जेइ पनि बेपत्ता भए । शायद थप सहयोग माग्नका निम्ति उनी अतालिँदा दुर्घटनामा परे । ८,००० फिटको उचाइमा अक्सिजनबिना धेरै दिन बसेर र चिसोले गर्दा शरीरमा शीतदंशका कारणले फ्रन्सिस आफ्नो सपनाकै घरमा प्राण त्याग्न पुगिन् ।

दक्षिण अफ्रिकी पर्वतारोही कैथी ओडोडले फ्रान्सिसलाई एक उपाधि दिएकी छिन् "द स्लिपिङ ब्युटी"। यो उपाधि फ्रन्सिसको मृत्‍युअगाडिको रूपको वर्णनमा आधारित छ । फ्रस्टबाइटले उनको छाला सेतो भएको थियो । त्यहाँ अर्धचेत अवस्थामा सुतेकी उनी सुतेकी सुन्दरीजस्तै, एक गुडियाजस्तै देखिएकी थिइन् । यो लेख तिनै स्लिपिङ ब्युटीको सम्झनामा समर्पण गर्न चाहन्छु ।