Logo

Student Corner

समयको व्यवस्थापन

Written by: Shreejal Khatri - 22024, Grade XII

Posted on: 13 December, 2021

हाम्रो जीवन धेरै लामाे छैन । यस कारणले हामीले हाम्रो समयको व्यवस्थापन राम्ररी गर्नुपर्ने हुन्छ । समय व्यवस्थापन भनेको हामीले आफ्ना जति पनि कामहरू छन्, तिनीहरूलाई समय भाग लगाई गरेर हामीले समय बचाउन सक्छौँ । समय भनेको पैसाभन्दा महत्त्वपूर्ण कुरा हो । यो किन हो भने यदि व्यापारमा वा अरू केही कुरामा पैसा गुमाइयाे भने त्यो पैसा फेरि पनि कमाउन सकिन्छ तर समय भनेको फेरि फर्केर आउँदैन ।

हामीले हाम्रो जीवनमा धेरै काम र जिम्मेवारीहरू पुरा गर्नुपर्छ । यसका लागि हामीले हाम्रो समयको सही रूपमा सदुपयोग गर्नुपर्ने हुन्छ । जो मानिसले आफ्नो समयलाई सही ढङ्गले सदुपयोग गर्छ, त्यसले जीवनमा सफलता पाउँछ र जसले गर्दैन, त्यसले जीवनमा सफलता पाउन अत्यन्त कठिन हुन्छ । समयको प्रयोग हामीले राम्ररी पनि गर्न सक्छौँ र नकारात्मक रूपमा पनि गर्न सक्छौँ । यसकाे प्रयाेग कसरी गर्ने भन्ने कुरा हामी आफैँमा भर पर्दोरहेछ । समयको सदुपयोग गर्न सजिलो पक्कै पनि छैन । यसका लागि हामीले आफ्ना कामहरू हेरी सबै कामलाई आ-आफ्नो समयमा बाँडेर एउटा दिनचर्या बनाउनुपर्ने हुन्छ । एउटा उदाहरण लिएर हेर्दा यदि हामीले १ हप्ता समय दिएको गृहकार्य पुरा गर्नुपर्ने छ भने हामीले समयमै दिनदिनै अलि अलि गर्दै गयाैँ वा पहिले नै गृहकार्य पुरा गर्याैं भने हाम्रो समय बच्छ र हामीलाई धेरै तनाव हुँदैन । फेरि यदि हामीले लापरवाही गरेर अन्तिम दिनमा सबै कार्य गर्न लाग्यौँ भने तनाव पनि निक्कै धेरै हुन्छ र समय पनि बढी लाग्छ । जीवनमा सुख र दुःख दुवैको समय आउँछ । खुसीकाे समय हुँदा धेरै फुर्किनु पनि हुन्न र धेरै दुखको समयमा निक्कै खस्किनु पनि हुन्न ।

हामी जहिले पनि आफ्नो सीमामा बस्नुपर्छ नत्र याे आफैँलाई हानिकारक हुने गर्दछ । समय भनेको नदीजस्तै बगिरहन्छ । सबै काम समयमै गर्न सकियो भने पछि गएर जीवन गाह्राे गरेर बिताउनुपर्दैन तर यदि गरिएन भने दुःख नै दुःखले जीवन जिउन गाह्राे हुने गर्दछ । समयले हामीलाई धेरै अनुभव पनि दिने गर्दछ । यसले गर्दा हाम्रो जुनै काममा पनि अझै राम्रो हुने र हाम्रो सोच पनि समयसँगै बदलिने गर्दछ । बच्पनमा समयको खासै महत्त्व हुँदैनथ्यो तर जब ठुलो हुँदै गइयो, तब जिम्मेवारीहरू पनि थपिँदै गए । यसै कारणले धेरै मानिसहरूलाई गाह्राे हुने हुँदोरहेछ । सानैदेखि समयको सदुपयोग गर्न सिकियो भने पछिसम्म काम लाग्ने छ । जीवन भनेको सहज हुँदैन र निकै धेरै समस्याहरू आउने गर्दछन् । हामी यसबाट भाग्नुभन्दा आफ्नै खुट्टामा उभिएर एउटा समाधान निकाल्नुपर्छ र यो गर्नलाई हामीलाई समयको व्यवस्थापनले धैर्य र समाधानहरू निकाल्न सहयोग गर्दछ ।      

समयको व्यवस्थापन गरियो भने धेरै कामहरू गर्न सजिलो हुने गर्दछ र आफूलाई धेरै कामहरू समयमै सक्न सहयोग गर्दछ । कहिले पनि भोलिबाट सुरु गर्छु भन्ने सोच राख्नुहुन्न किनभने धेरैजसो बेला भोलि कहिले पनि आउँदैन । त्यसैले अल्छी नगरी आजबाट नै समयमै सुरु गर्ने प्रयास गर्नुपर्दछ । बिहान छिटै उठ्नु पनि राम्रो हो किनभने यसले हामीलाई आफ्ना कार्यहरू गर्न धेरै समय दिने छ र समयको सदुपयोग पनि हुन्छ । हामीले आफूलाई चाहिने निद्रा चाहिँ पुरा गर्नुपर्छ । समय भनेको निकै शक्तिशाली कुरा हो र यसलाई राम्ररी प्रयोग गर्ने हाे भने जीवन जिउन निकै सजिलो हुन्छ ।