Logo

Student Corner

नेपालको कम्युनिस्ट राजनीतिका महत्त्वपूर्ण दिनहरू

Written by: Ashna Shrestha - 23064, Grade XI

Posted on: 10 December, 2021

वि. सं. २००६ वैशाख १८ गते पार्टीका संस्थापक महामन्त्री कमरेड पुष्पलाललाई चयन गर्दै कमरेड निरञ्जन गोविन्द वैद्य, कमरेड नारायणविलास जोशी, कमरेड नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ संस्थापक सदस्य भए । भाद्र ३० मा पार्टीको केन्द्रीय सङ्गठन समिति, विधान र घोषणापत्र जारी गर्दै विधिवत २००६ भाद्र ३० गतेलाई नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको घोषणा गरियो । किसान, मजदुर, महिला, विद्यार्थीको हितको सुनिश्चितताका लागि सङ्गठित हुनका लागि पहिलो पर्चामा नै आह्वान गरिएको थियो । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजङ्ग रायमाझी लगायतका नेताहरू पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामन्तवाद, दलाल-नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो । कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबिचमा काङ्ग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धसमेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो । तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यस क्रममा केशरजङ्ग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी विभाजन भयो । विभाजनका बिच झापामा तत्कालीन झापाली क्रान्तिकारीले ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्तिमार्फत् नेकपा माले र हालको एमालेको रूप लिए । पुष्पलाल, मनमोहनहरूको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो । मोहनविक्रम सिंह, निर्मल लामाहरूले नेतृत्व गरेका विभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मशाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धारा बन्यो । यद्यपि मोहनविक्रम सिंह भने अहिले पनि पातलो मसाल बोकेर बसिरहेका छन् । २०१५ सालमा ४ सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी पञ्चायतकालमा विभिन्न चिरामा विभाजित भएको थियो । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालीन जनमोर्चा र हालको माओवादी ९ सिटसहित तेस्रो दल बन्यो ।
२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि उसले संसदीय राजनीति परित्याग गर्‍यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिस्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एसियामै पहिलो कम्युनिस्ट एकल सरकार गठन गरेको थियो । २०५४ सालमा एमाले विभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुनः दोस्रो दल बन्यो । जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठुलो दल बन्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने । यसबीचमा नेपाल कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बने । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीले करिब दुई तिहाई बहुमत सिट जित्न सफल भएका छन् । यो नेपाल कम्युनिस्ट पार्टी स्थापनाको करीव ७० वर्षकै इतिहासमै सबैभन्दा ठुलो सफलता हो ।