Logo

Student Corner

हामीले पुस्तकहरू किन पढ्नुपर्छ ?

Written by: Subesh Tharu - 22013, Grade XII

Posted on: 07 December, 2021

मानव अस्तित्वमा आएदेखि नै दिन प्रतिदिन मानिसको विकास भइरहेको छ । मानिसको विकास हुनुको पछाडि एउटा मुख्य कारण भनेकाे चाहिँ ज्ञान र शिक्षा हो । संसारकै परिप्रेक्ष्यमा हेर्ने हाे भने मानिसलाई सैद्धान्तिक र व्यावहारिक गरी दुई प्रकारका ज्ञान र शिक्षा उपलब्ध गराइन्छन् । सैद्धान्तिक रूपमा मानिसलाई शिक्षा र ज्ञान प्रदान गर्ने मुख्य स्रोतहरूमध्ये पुस्तकहरू एक हुन् । पुस्तकहरू ती सामग्री हुन्, जहाँ शिक्षक वा लेखकले आफ्नो ज्ञान, अनुभव, विचार र अन्य धेरै रोचक र रमाइला कुराहरू लेखेका हुन्छन् । यसको आधारमा हेर्यो भने पुस्तकहरूलाई धेरै प्रकारमा विभाजित गरिएको पाइन्छ । कतिपय ज्ञानका लागि लेखिएका हुन्छन् भने केही मनोरञ्जनका लागि लेखिएका हुन्छन् तर जुन किताब जस्ताे भए पनि सबै किताबका आआफ्नै विशेषता र महत्त्व हुन्छन् र सबै किताबले केही न केही ज्ञान त दिएका नै हुन्छन् ।
हामी सानैदेखि विद्यालयहरूमा किताब पढ्दै आएका छौँ । तिनीहरूले हामीलाई ज्ञान र भविष्यमा सफलता हासिल गर्ने बाटो दिन्छ तर साँच्चै के तिनीहरू यी कुराहरू मात्र दिन्छन् ? निस्सन्देह, तिनीहरूले जीवनलाई नयाँ तरिका दिन्छन्, जीवनमा फरक दृष्टिकोण दिन्छन् । पढाइले हाम्रो कल्पनाशक्ति र रचनात्मकता बढाउँछ । यसले हामीलाई विभिन्न विचार र समझ दिन्छ । यसले हाम्रो स्मरण शक्ति र शब्दावलीमा पनि सुधार गर्छ र हामीलाई चलाख बन्न पनि मद्दत गर्छ । शैक्षिक पुस्तकहरूभन्दा यहाँ अन्य रोचक पुस्तकहरू छन्, जुन मनोरञ्जनात्मक उद्देश्यका लागि लेखिएका हुन्छन् । जब हामी दुखी महसुस गर्छौं वा निराश हुन्छौँ, ती पुस्तकहरू पढ्दा हामीलाई साँच्चै खुसी महसुस हुन्छ र यसले सकारात्मक सोचलाई प्रोत्साहन दिन्छ । पढाइले पनि हामीलाई प्रेरणा दिन्छ । यी पुस्तकहरूभन्दा पनि हाम्रो संस्कृति र इतिहासको बारेमा ज्ञान र जानकारी प्रदान गर्ने धेरै ऐतिहासिक र सांस्कृतिक पुस्तकहरू छन् ।
साँच्चै किताबहरू सबैभन्दा राम्रा शैक्षिक उपकरण हुन् । यसले हामीमा प्रेरणा र रचनात्मकता बढाउँछ । म सबैलाई पुस्तक पढ्न सुझाव दिन्छु किनभने हामीले पुस्तक सधैँ पढिराख्नुपर्छ । किताबले हामीलाई मानसिक रूपमा स्वस्थ राख्छ मद्दत पुर्याउँछ ।