Logo

Student Corner

राष्ट्रप्रेम

Written by: Bipana Shrestha - 24002, Grade X

Posted on: 07 December, 2021

मानिसले जुन राष्ट्रमा जन्म लिन्छ त्यो राष्ट्र नै उसको मातृभूमि हो । मान्छेले आमाको कोखबाट यस धरतीमा जन्म लिन्छ भने देशले उसको मौलिक चिनारी दिन्छ । देशले नै नागरिकको  परिचय दिन्छ ।  उसको शान, इज्जत र गौरव अभिवृद्धि गर्दछ । देश नै नागरिकको पहिलो परिचय हो । त्यसैले देशभक्ति प्रत्येक नागरिकमा हुनुपर्छ । 
देशभक्त नागरिकहरूले आफ्नो मातृभूमिप्रति प्रकट गर्ने श्रद्धा वा प्रेमभावलाई नै देशभक्ति भनिन्छ । अर्को शब्दमा भन्ने हो भने देश वा राष्ट्रप्रति त्यस देशका देशभक्त नागरिकहरूबाट दर्साइने भक्तिभावलाई नै देशभक्ति भनिन्छ । यसलाई राष्ट्रप्रेम र राष्ट्रभक्तिजस्ता शब्दबाट पनि अभिव्यक्त गर्न सकिन्छ । यो देशभक्त नागरिकको देशप्रतिको मुटुभित्रको माया हो । देशभक्त व्यक्तिका लागि देश र देशभक्ति अन्योन्याश्रित विषय हुन् । देशविना नागरिकको अस्तित्व रहँदैन भने नागरिकहरूलाई देशले नै संसारमा परिचित गराउँछ । यस्ता देशभक्त व्यक्तिहरू आफ्नो जन्मभूमि भौतिक रूपमा जतिसुकै विपन्न र अविकसित भए पनि त्यसप्रति अटुट आस्था, श्रद्धा देशभक्त नागरिकमा हुनुपर्छ । प्रत्येक देशभक्त नागरिकहरू आफ्नो देश वा जन्मभूमिका लागि सर्वस्व सुम्पनसमेत तयार हुनुपर्छ। आफ्नो देशको उन्नति र प्रगतिका लागि जीवन अर्पण गर्नसमेत पछि पर्नु हुँदैन ।  देश रहे मात्र संसारमा आफ्नो अस्तित्व रहन्छ भन्ने कुरा नागरिकले राम्ररी बुझ्नुपर्छ। 
देशभक्तिको भावनामा राष्ट्रप्रेम लुकेको हुन्छ। राष्ट्रप्रेम भनेको आमाको माया हो ।  आफ्नी आमाका लागि सन्तानहरूले जे जस्तो मूल्य चुकाउनु परे पनि पछि पर्नु हुँदैन  । देशभक्तिको भावनाले उत्साहित भएर धेरै देशभक्त सपूतहरूले आफ्नो मातृभूमिको मुहार हँसिलो पार्न बलिदानी दिएका नेपाल आमाका सन्तानहरूका बारेमा हामीले सुनेका र पढेका पनि छौँ। त्यसैले प्रत्येक नागरिकमा देश भक्तिको भावना हुनुपर्छ  । देशले मलाई के दियोभन्दा पनि मैले देशलाई के दिएँ भन्ने कुरा मनन गर्नुपर्छ।