Logo

Student Corner

घरेलु हिंसा

Written by: Yunil Ghimire - 24008, Grade X

Posted on: 02 December, 2021

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो । विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन । घरेलु हिंसा भोगिरहेका मानिसले शारीरिक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । नेपालको सन्दर्भमा महिला तथा बालबालिका माथि घरेलु हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाडदेखि तराईसम्म उच्च घरानियादेखि सुकुम्वासी झुपडीसम्म जहाँ सुकै, जोसुकैबाट र जहिले पनि घरेलु हिंसा भएका कुरा समाचारमा सुनिन्छ र देखिन्छ पनि ।
नेपालमा घरेलु हिंसाका अनेक कारणहरू छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । आफू पहिले बुहारी बनेकी घरकी सासु बुहारीमाथि हैकम जमाउँछिन् । अझै पनि गाउँले समाज र  परिवेशमा महिलाहरू घरेलु हिंसाको शिकार भैरहेका छन्  । त्यस्तै बालबालिकाहरू पनि आफ्नै घरमा होस् वा अरू जो सुकैबाट घरेलु हिंसाको शिकार भएका छन् । 
घरेलु  हिंसाका विविध कारणहरू छन् । गरिबी, अशिक्षा, अन्धविश्वास, रुढिवादी सोचका कारण पनि मानिस घरेलु हिंसाका शिकार भइरहेका छन्  । घरेलु हिंसाले मानिसमा अनावाश्यक डर, त्रास पैदा गर्नुका साथै मानिसको आत्मबल पनि कमजोर हुन्छ  । हिंसाले गर्दा मानिस आत्म हत्या गर्न पनि पछि पर्दैन ।  हिंसाले मानिसको व्यक्तित्व कमजोर हुन्छ । 
मानिस जति शिक्षित भए पनि घर बाहिर जतिसुकै ठुला कुरा गरे पनि आफ्नै घरमा आफैँले घरेलु हिंसा गरेको हुन सक्छ ।  
घरेलु हिंसा पनि एक प्रकारको अपराध हो ।  हामी कसैले त्यस्तो हिंसा कहीँ कतै त्यस्तो हिँसा भएको देख्यौँ भने प्रहरीलाई खबर गर्नुपर्छ । कतिपय अवस्थामा मानिसले नजानेर पनि हिंसा गरेको हुन सक्छ।  यदि त्यस्तो छ भने सचेत हुनुपर्छ । यस्ता हिंसाले समाज र परिवारमा नराम्रो असर गर्छ  ।