Logo

Student Corner

दोष कसको ?

Written by: Anukrama Poudyal - 22031, Grade XII

Posted on: 01 December, 2021

राजनीति हिजोआज सबभन्दा बढी सुनिने शब्दमध्येको एक शब्द हाे । याे न्यायालयदेखि लिएर खेल मैदानसम्म, विद्यालयदेखि लिएर मठमन्दिरसम्म सबै क्षेत्रमा आफ्नो हैकम जमाउन सफल शब्द हाे । आखिर के हो त राजनीति ?

हामी पाठकमध्ये धेरैलाई राजनीति शब्द सुन्नेबित्तिकै ती दुष्ट नेता वा ती देश बेच्ने दलाल वा ती भ्रष्ट्राचारी, जसले आफ्नै आमाजस्तै मातृभूमिलाई पनि छिया छिया परेका छन्, उनीहरूको मात्र सम्झना आउँछ । के राजनीति शब्द यतिमै सीमित छ त ? के राजनीति हामीले सोचेको जस्तै घिन लाग्दो खेल हो त ? के यो शब्द मात्रै ठुला नेता र व्यापारीले गर्दा घृणा गर्नुपर्ने शब्द बनेको हो र ?

मलाई त लाग्छ यो एउटा समाज सुधार्ने यन्त्र मात्रै हो, यो एउटा सच्चा देश भक्तले आफ्नो देशभक्ति दर्साउने एउटा साधन हो र यो एउटा देशकै मुहार फेर्ने माध्यम मात्र हो । हामीले उदाहरणका रूपमा चीन, जापान, अमेरिकालगायतका ठुला मुलुकहरूलाई लिन सकिन्छ । त्यहाँ पनि त राजनीति छ तर फरक के मात्र छ भने त्यहाँ यही राजनीति शब्द सफा छ, जसले त्यो देश विकास गर्ने एउटा माध्यमको रूपमा काम गरेको छ र त्यहाँका नेताहरू र अरू आधिकारिक मान्छेहरू सबल र पढेलेखेकाहरू छन् ।

भनाइको अर्थ यो होइन कि नेताहरू र अरू ठुला मान्छेहरू मात्र दोषी हुन् । नेपालको राजनीतिलाई सत्ताको खेल बनाउने, हामी मुर्ख जनता पनि उती नै दोषी छौँ । त्यस्ता जनता, जसले राम्रालाई हैन हाम्रालाई छान्छन्, त्यस्ता जनता जसले रक्सी, मासु र अलिकति पैसाको लोभमा आफ्नो अमूल्य भोट बेचिदिन्छन्, त्यस्ता जनता, जसले आफ्नो पार्टीले गरेको जातिसुकै जघन्य अपराध पनि नदेखेझैँ गरिदिन्छन् ।

त्यसैले आजदेखि बकम्फुसे नेतालाई मात्र राजनीतिजस्तो पवित्र शब्दमा आँच पुर्याउने कारणका रूपमा नलिऊँ । बरु त्यसको केही हदसम्म जिम्मेवारीको वहन आफैँले पनि गरौँ र अबदेखि नेता चुन्दा असल नेतालाई चुनाैँ र सच्चा नागरिकको परिचय दिऊँ ।