Logo

Student Corner

सकारात्मक सोच

Written by: Sayara Aryal - 23057, Grade XI

Posted on: 30 November, 2021

समय परिवर्तनसँगसँगै मानवीय चिन्तनमा पनि तीव्र विकास हुँदै आइरहेको हामी देख्न सक्छाैँ । हिजोको त्यो पुरानो युगबाट मानव आजको सभ्य, चेतनशील र बुद्धिमान् प्राणीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । विश्वमा तीव्र गतिमा विकास भए तापनि मानवले एकअर्कामाथि हेर्ने दृष्टिकोणमा भने नकारात्मकता बढ्दै गइरहेको हामी देख्न सक्छौँ । मानिसको सोचमा नकारात्मकता बढ्दै गइरहेको छ त्यसैले सकारात्मक सोच जीवनलाई समानतातर्फ डोर्याउन आवश्यक छ भन्न सकिन्छ ।

यस संसारमा मेलमिलाप र झैझगडा निम्त्याउने एउटै मात्र महत्त्वपूर्ण कुरा भनेकै सोच हो ।  सकारात्मक कुरा अथवा सोचले मानव समुदायमा मेलमिलापको वातावरण सिर्जना गर्न सहयोग पुर्याउँछ, जसले गर्दा एउटा परिवार, समुदाय र राष्ट्रलाई समेत सकारात्मक असर पार्दछ तर आजको मान्छे सकारात्मक कुराहरूको विरुद्धमा लागेर नकारात्मक प्रतिक्रिया जनाउनतर्फ उन्मुख रहेको पाइन्छ । सकारात्मक र नकारात्मक सोच आउनु जीवनका दुई महत्त्वपूर्ण कुराहरू हुन्, जसमा यदि हामीले हाम्रो जीवनमा सकारात्मक सोच राख्याैँ भने जीवनमा सकारात्मक परिवर्तनहरू आउने गर्दछन् भने नकारात्मक सोचले जीवनमा नकारात्मक भाव ल्याउने गर्दछ । उदाहरणका लागि केही विद्यार्थीहरू परीक्षामा असफल हुँदा आत्तिने तथा आत्महत्या गर्ने प्रयाससम्म गरेको भेटिन्छ । परीक्षामा एक पटक असफल हुनाले अर्को पटक राम्रो उपलब्धि हासिल गर्ने मौका मिलेको हुन्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । आफूले आफूलाई कहिले पनि असक्षम ठान्नु हुँदैन । यदि हामीमा कमजोरी छ भने त्यसलाई सकारात्मक दृष्टिकोणले त्यो आफूभित्र भएको नकारात्मक सोचलाई चिन्न र बुझ्न सक्ने हुनुपर्छ । यदि आफूभित्र भएको नकारात्मक सोचलाई स्विकार्न सफल भइयो भने मात्र सकारात्मक सोचको विकास हुन सक्छ । सकारात्मक सोचले नै मानिसलाई अगाडि बढाउँछ र सकारात्मक सोचले गर्दा नै देशको विकास हुन्छ ।

सकारात्मक सोचले मानिसको जीवनमा सकारात्मक परिवर्तन आउँछ । आजको मानवलाई सहनशीलता, सत्कर्म, सादा जीवनलाई व्यवहारमा उतार्न निकै गाह्रो छ । सकारात्मक सोच लिएर अगाडि बढ्न सफल भइयो भने मात्र मानव जगत्‌को हित गर्न सकिन्छ ।