Logo

Student Corner

नेपाली बनौँँ, नेपाली नभनौँ

Written by: Subesh Tharu - 22013, Grade XII

Posted on: 25 November, 2021

मानिसको जाति कति प्रकारको हुन्छ होला ? अरू देशको त थाहा भएन तर नेपालमा चाहिँ दुई किसिमको जात हुन्छ । एउटा आफूलाई नेपाली भन्ने जात र अर्को आफूलाई नेपाली बनाउनेहरू । कोही भन्न सकेर नेपाली भन्छन् त कोही गर्न सकेर नेपाली बन्छन् ।
नेपाली भन्नेहरू आफूलाई गर्वले नेपाली भन्ने गर्छन् । उनीहरूको हिसाबले देशलाई उनीहरूले नै चलाएका हुन्छन् । नेपाललाई बचाउने भन्छन् र बचाउन दुई चार वटा सल्लाह पनि दिन्छन् ।

सबैलाई गरौँ, गरौँ भनेर त भन्छन् तर आफू चाहिँ केही गर्दैन । कुनै ठाउँमा भेला भएर देश कसरी चलाउने र कहाँ के गर्नुपर्छ भनेर गफ हाँक्छन् । अझै आफूलाई अलिक धेरै नै नेपाली भन्नेहरू त सामाजिक सञ्जालसमेतमा भन्न छाड्दैन । बिहान बेलुका फेसबुक, ट्विटर र इन्स्टाग्राममा चिच्याउँदै हिँड्छन् । अब बुढाबुढी त भइहाले, काम गर्न सक्दैनन् तर उनीहरू पनि कम छैनन् । नेपाली बन्नेहरू नेपाली भन्नेहरूभन्दा छुट्टै हुन्छन् । उनीहरू अरूलाई सहयोग गरेर नेपाली बन्छन् । उनीहरूको हिसाबले उनीहरूमाथि सममाजप्रति आफूले गर्नुपर्ने दायित्व हुन्छ । उनीहरू घर घर गएर सहयोग तथा देशको विकासका लागि आग्रह गर्छन् । ठाउँ ठाउँ गएर जनचेतना फैलाउँछन् । सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सहभागिता लिन्छन् ।

त्यसैले हामीले नेपाली बन्नेहरूलाई देश विकासका लागि आर्थिक, सामाजिक र राजनितिक शक्तिमा ठाउँ दिनुपर्छ । अब तपाईंहरू आफैँ साेच्नुहाेस्, तपाईं नेपाली भन्नुहुन्छ कि नेपाली बन्नुहुन्छ ?