Logo

Student Corner

नारी शिक्षा

Written by: Simon Sangat - 22019, Grade XII

Posted on: 23 November, 2021

अहिलेको युगमा नारी शिक्षित हुनु अति नै जरुरी छ । नेपालको कुल जनसङ्ख्यामा आधा हिस्सा ओगटेका महिलाहरू अझै पुरुषका तुलनामा कम शिक्षित छन् । नारी जातिप्रति समाजको ज्यादै सङ्कुचित सोच भएकाले उनीहरू पछि परेका छन् । नारीहरू घरायसी काम मात्र गर्न सक्छन् भन्ने मानिसको यो सोचाइलाई बदल्नु जरुरी छ । नारी शिक्षित भएमा नै घर शिक्षाको उज्यालो ज्योतिले चम्कन थाल्छ त्यसैले नारी शिक्षित हुनु जरुरी छ ।

आजको यस एक्काइसौँ शताब्दीमा नारीहरू पनि पुरुष समान काम गरिरहेका छन् । नारीले पनि पुरुष सरह प्रतिष्ठा, मान, सम्मान पाउनु निकै जरुरी छ । नारीले पनि पुरुषले जत्तिकै शिक्षा आर्जन गर्ने मौका पाउनुपर्छ । यदि यसो भएन भने त आधा जनसङ्ख्या नै पछि पर्न जान्छ । नारी अशिक्षित भए देश विकास कसरी होला त ? नेपालीमा एउटा उखान पनि छ, “यदि एउटा पुरुष शिक्षित भयो भने एउटा मानिस मात्र शिक्षित हुन्छ तर एउटी नारी शिक्षित भई भने पुरा परिवार नै शिक्षित हुन जान्छ ।” शिक्षा आर्जन गर्ने सुनौलो अवसर पाए भने नारीहरू पनि पुरुषसरह देशको नीति निर्माणमा अघि बढ्नुका साथसाथै डाक्टर, विमान चालक आदि बनेर राष्ट्रसेवा गर्न सक्छन् ।

नारी आमा पनि हुन् । नारीको कोखबाट जन्मेका बालबालिकाहरूका लागि आमाको काख नै पहिलो पाठशाला हो । आमाले नै आफ्ना बालबालिकाहरूलाई शिक्षित, सभ्य र शिष्ट बनाउन सक्छिन् त्यसैले नारी शिक्षित हुनु अति नै जरुरी छ । बालबालिका भनेका भविष्यका कर्णधार हुन् । उनीहरूको हातमा नै यो देशको भविष्य छ । एउटा सभ्य, शिष्ट र शिक्षित व्यक्तिले नै यो देश बनाउन सक्छ । त्यसको लागि नारी शिक्षा अति नै आवश्यक छ ।

नारीलाई शिक्षा दिने कार्य अहिले नेपालमा बढ्दै गए पनि यो सहरमा मात्र सीमित रहेको छ । अझै पनि गाउँका नारीहरू शिक्षाबाट बञ्चित छन् । ग्रामीण क्षेत्रमा नारीहरू अर्काको घर जाने त हुन् नि भनेर उनीहरूलाई शिक्षाबाट नै वञ्चित गराइन्छ तर शिक्षाको अवसर पाएमा उनीहरू पनि आफ्नै खुट्टामा उभिन सक्छन् । नारी शिक्षित भएमा सिङ्गो परिवार नै शिक्षित हुन गई समाज अशिक्षाको दलदलबाट निस्किन्छ । नारीलाई शिक्षा दिनुपर्छ भन्ने चेतना गाउँगाउँ पुगे देशको विकास हुने निश्चित छ त्यसैले नारी शिक्षाको आवश्यकता आजको युगमा झन् झन् बढ्दो छ ।