Logo

Student Corner

एउटा साथीको कथा

Written by: Samyam Shrestha - 22012, Grade XII

Posted on: 22 November, 2021

सँगै बस्ने, सँगै घुम्न जाने, आज एक्लो परेछ । कता हरायो, किन हरायो ? सँगै भएकाे, सँगै मिलेर काम गर्ने भनेकाे किन सुत्दै छौ ? किन जीवनले यस्तो मोड लिएको ? सोचेनौ र अरूलाई कस्तो हुन्छ भनेर ? टाढा हुँदा पनि सँगै, जहिले नजिक, मेरो छेउमा बसेको जस्तै लग्थ्यो । अब त मलाई आँखा खोलेर पनि हेर्दैनौ । यस्तो विशाल सहरमा एक्लै किन छोडेर गएको ? हरेक दिन सहयोग गरेँ, हरेक दिन आएर सबै मिलाइदिएँ, हरेक सेकेन्ड तिम्रो छेउमा बसेँ, अरू कोही नहुँदा पुरै रात एक्लै तिम्रो नजिक बिताएँ ।

गर्नुसम्म गरेँ, पूर्ण रूपमा कहिले केही नराम्रो गरिनँ । सबजनाको एउटा सपना हुन्थ्यो । आफन्तको आँसु कसैलाई हेर्न मन लाग्दैन । आफ्नो दु:ख बुझ्न कसलाई मन लाग्दैन र ? यो जीवनमा सब एक्लो हुन्छन्, आफ्नो भन्ने कोही हुँदैन । एकले १०० बचाउँछ, १०० ले अनेक तर त्यही एकलाई कसले बचाउँछ ? त्याे एकलाई बचाउन किन कोही अगाडि बढ्दैन ?

“बच्न खोज्छन् सबै, सहयोग चाहन्छन् सबै,
अन्तिममा एक्लो हुन्छन् सबै,
एक्लो भए पनि गर्ने आशा छ सबैलाई,
जिन्दगीमा नाम कमाउनु छ सबैलाई,
सबैलाई जीवनमा एउटा मित्र चाहिन्छ ,
जाे हरेक समय सहयोग गर्न तयार हुन्छ,
जता हेरे पनि, गए पनि दुवै एक अर्काका हुन्छन् ।”

जति कोसिस गरे पनि आँखा खोल्दैन । रुन मन लाग्छ तर सँगै रुने मान्छे कोही छैन । मर्न मन लाग्छ तर मृत्यु एक मात्र विकल्प होइन । राम्रा मान्छे चाँडो जान्छन्, सही मान्छे दबेर बस्छन्, कमजोर मान्छे हेपिन्छन् । यही हाे अहिलेको हाम्रो देश । संसारको अवस्था र हाम्रो प्रकृतिको खेल । मान्छेहरूलाई आफ्नो जीवन फेरि सुरु गर्ने छनोट छैन, भए सबैलाई गर्न मन लाग्थ्यो । जीवन अनुचित छ । आशा छ, सबैजना राम्रोसँग बस्न, बच्न र एक अर्कालाई सहयोग गर्न तत्पर हुन्छन् । रुँदा रुँदा आँसुको नाला बगिसकेको छ तर हेर्नलाई कोही मान्छे आएन । दुख लागिसक्यो, जिउमा केही शक्ति छैन उठ्नलाई तर कोही आएन हामीलाई हेर्न । सबैजनाले हामीलाई बिर्सिसके जस्तो छ । फोन गर्दा कोही उठाउँदैन ।  

टाउको दुखेर मर्न लागिसकियाे । कोही एकजना भए पनि आओस् भन्ने आशा मनभित्र जाग्छ तर उसका आमाबुबा त आफ्नो छोरालाई हेर्न पनि आएनन् । “किन यस्तो गरेका हुन् सबैले ? हामीले कसैको केही बिगारेका पनि छैनाैँ । एक्लै हो भने अब एक्लै बाँचिन्छ । तिमी राम्ररी सुत मेरो प्यारो साथी !”